Monday, March 7, 2016

शेरबहादुर देउवाः शेरेपश्चिमदेखि कांग्रेस सभापतिसम्म

२५ फागुन, काठमाडौं । सुदुरपश्चिमेली नेता शेरबहादुर देउवा कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । लामो समयदेखि कोइरालाहरुले नेतृत्व गरेको नेपाली कांग्रेस अब कुन दिशामा अघि बढ्ला भन्ने नयाँ प्रश्नसमेत देउवाको राजनीतिक उदयसँगै जन्मिएको छ ।

चौथो प्रयासमा देउवाले देशको सबैभन्दा पुरानो एवं पार्टीको प्रमुख पद बैधानिकरुपमै कब्जा गरेका छन् । यसअघिका तीनवटा महाधिवेशनमा उनी पराजित भएका थिए ।

पार्टीको सत्तामा आइपुगेका देउवाले अब समग्र मुलुकको राजनीति र सरकार सञ्चालनको प्रश्नमा कस्तो भूमिका खेल्लान् भन्ने विषय पनि चासोका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सरकारमा आमन्त्रण गरिरहेको अवस्था छ ।

देउवातिर सबैको नजर

देशको सबैभन्दा ठूलो पार्टीको प्रमुख पदमा पुग्नु देउवाको चानचुने उपलब्धि होइन । कांग्रेसको सभापति हुनुको अर्थ उनी ‘वेटिङ प्राइममिनिस्टर’ पनि बन्न पुगेका छन् ।

सबैलाई समेटेर हिँड्न सक्ने तथा आवश्यकता अनुसार कठोर र लचिलो हुनसक्ने क्षमता भएकाले देउवा आगामी दिनमा नेपाली राजनीतिमा छाउन सक्ने विश्वास गरिएको छ । यद्यपि उनका कतिपय कमी-कमजोरीले गर्दा उनको नेतृत्व सफल हुनेमा आशंका गर्नेहरु पनि छन् ।

पार्टी सभापतिमा देउवाको विजयसँगै अब उनले नेपाली राजनीतिलाई कसरी अघि बढाउलान् भन्ने चासो पार्टीभित्र र समग्र देशको राजनीतिमा बढेको छ । विशेष गरी केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुन्छ या प्रतिपक्षमै बस्छ या देउवा आफैं सरकारको नेतृत्व लिन अघि सर्छन् भन्ने प्रश्न सतहमा आएको छ ।

त्यसैगरी संविधानको कार्यान्वयनको सन्दर्भमा उनले मधेस र आदिवासी जनजातिका मुद्दाहरुलाई कसरी सम्बोधन गर्लान् र सीमांकन लगायतका राज्य पुनसंरचनाका विष्यमा कसरी प्रस्तुत होलान् भन्ने प्रश्न पनि उत्तिकै प्रखर छ ।

संविधान निर्माणका क्रममा देउवाले विशेष गरी कैलाली कञ्चनपुर र थारुहरुको मागका सन्दर्भमा संकीर्ण दृष्टिकोण प्रस्तुत गरेको आरोप उनीमाथि लाग्दै आएको छ । उनले अब यसलाई पनि पखाल्ने अवसर पाएका छन् ।

को हुन् देउवा ?

शेरबहादुर देउवा ५० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय छन् । उनको जन्म २००३ सालमा डडेल्धुरा जिल्लाको असीग्राम गाविस ५ रूवाखोलामा भएको हो । पत्नी आरजू राणा देउवा र छोराका साथ हाल उनी बूढानीलकण्ठ नगरपालिका, काठमाडौमा बसोवास गर्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी र कानूनमा स्नातक गरेका देउवाले सोही विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उतीर्ण गरेका छन् । उनी सन् १९८८-८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिसर्च फेलो थिए ।

Sher B Deuba

सुदूर पश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका देउवा नेपाली काङ्ग्रेसको छात्र विभाग-नेपाल विद्यार्थी संघको संस्थापक सदस्य पनि हुन् । दोस्रो महाधिवेशनपछि उनी संघको अध्यक्ष भएका थिए । प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने नेपाली काङ्ग्रेसको नेताका हैसियतले देउवा विश्व समाजवादी आन्दोलनसँग पनि अभिन्न रूपले जोडिएका छन् ।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि हालसम्म त्यो अन्तर्राष्ट्रिय समाजवादी संगठनको एसिया क्षेत्रको अध्यक्ष र अन्तराष्ट्रिय उपाध्यक्ष छन् ।

यस्ता छन् देउवा

कांग्रेसको मात्र नभएर नेपाली राजनीतिकै एक प्रमुख पात्र हुन् देउवा । उनी कुनै पनि विषयमा छिटो र तत्काल निर्णय लिन सक्छन् र निर्णयमा अडिन पनि सक्छन् ।

देउवाको अन्तर्राष्ट्रिय सम्वन्ध राम्रो छ । उनी पहिले अमेरिका निकट मानिन्थे भने पछिल्लो समयमा भारतको संस्थापनसँग पनि राम्रो सम्बन्ध रहेको विश्वास गरिन्छ । देउवा राजनीतिक चलाख खेलाडी हुन् ।

आफू वरिपरिकालाई विश्वासमा लिएर अघि बढ्ने उनको शैली रहेको बताउँछन् देउवाका प्रशंसकहरु । उनीसँग आफूप्रति वफादार नेता-कार्यकर्ताको पुरानो पङ्ति देउवासित छ, जसले उनलाई हरदम साथ दिन्छन् ।

देउवाका नकारात्मक पक्षको कुरा गर्दा सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तत्पर हुने छवि छ उनको । विगतमा प्रधानमन्त्री पद हासिल गर्न र त्यसमा टिकिरहन थुप्रै जायज-नाजायज सम्झौता गरेको आरोप आलोचकहरुले लगाउने गर्छन् ।

पढेलेखेका भए पनि देउवा कुनै पनि विषयवस्तुको गहिरो विश्लेषण गरी भिजन दिन सक्ने उनको क्षमता अहिलेसम्म प्रकट भएको छैन । कांग्रेसमा उनले कुनै नयाँ विचार र दृष्टिकोण दिन सकेका छैनन् । सामान्य परिवार व्यक्ति भए तापनि पछिल्लो समय देउवा विलासी जीवनशैलीका लागि आलोचित छन् । मदिराप्रेमीका रुपमा समेत कतिपयले उनलाई चित्रण गर्ने गरेका छन् ।

देउवाको राजनीतिक उदय

विद्यार्थी राजनीतिकालदेखि नै नेपाली काङ्ग्रेसले चलाएको प्रजातन्त्रको पुनर्वहालीको आन्दोलनका क्रममा पटक-पटक गरी १० वर्षभन्दा बढी समय देउवाले जेलमा बिताए ।

०४८ सालको आम निर्वाचनपछि देउवाले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए, जहाँबाट उनको राजनीतिक करिअरको अभ्युदय भयो । ०४८ को चुनावमा सुदूरपश्चिममा कांग्रेसलाई जिताएपछि उनलाई शेरेपश्चिम उपनाम दिइएको थियो ।

त्यसयता देउवाले एक दशकको अवधिभित्र तीनपटक मुलुकको प्रधानमन्त्रीको पद सम्हाल्ने अवसर पाएका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई असक्षम बताउँदै पदबाट बर्खास्त गरी १० महिना नजरबन्दमा समेत राखेका थिए ।

२०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपश्चात सम्पन्न तीनवटै संसदीय निर्वाचनमा देउवाले आफ्नो गृह जिल्ला डडेलधुराको एकल निर्वाचन क्षेत्रबाट भारी वहुमतले विजय हासिल गरेका थिए ।

विसं. २०६४ र २०७० मा सम्पन्न संविधानसभाका दुवै चुनावमा डडेलधुरा र कञ्चनपुर तथा डडेलधुरा र कैलाली गरी दुई-दुई ठाउँबाट जित पार्दै नयाँ कीर्तिमान कायम गरेका थिए ।

सम्झनयोग्य कामहरु

निर्णय क्षमताका धनी नेता देउवा पहिलो पटक प्रधानमन्त्री भएको समयमा सन् १९९६ मा नेपालको भारतसँग महाकाली सन्धि भएको थियो । उनकै कार्यकालमा नेपालमा मूल्य अभिबृद्धि कर लागू भएको हो । देउवाले प्रधानमन्त्रित्वकाल २०५८ सालमा अख्तियार दुरूपयोग अनसन्धान आयोगलाई सुदृढ र शक्तिसम्पन्न बनाउने कानून तर्जुमा गरी संसदबाट पारित गराए ।

आफैँ पनि पछिडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रबाट आएका देउवाले देशका पछिडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेस (कदमजम) को अवधारणा ल्याए ।
उनकै पालोमा कमैया मुक्तिको घोषणा हुनुका साथै मुक्त कमैयाहरूलाई पुनस्र्थापना गरिएको थियो । त्यसका साथै प्रधानमन्त्रीका हैसियतमा उनले भूमिहीन थारूहरूलाई जग्गा उपलव्ध गराउने र सीमान्तकृत वर्गका जनतालाई सुविधा दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गराएका थिए ।

देउवाले देशमा लागू भएको भूमिसुधार कार्यक्रममा सुधार गरी जमीनको दोहोरो स्वामित्व अन्त्य गरेका थिए । उनको नेतृत्वमा संसदले मुलुकी ऐनको ११ औं संशोधन गरेर महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गराएको थियो ।

पूर्व-पश्चिम राजमार्गको कणर्ाली-चिसापानी पश्चिमको खण्डमा २२ वटा पक्की पुलको निर्माण गराएर उनले मुलुकको बाँकी भागबाट अलग-थलग रहेको सुदूरपश्चिमाञ्चललाई राष्ट्रिय यातायात सञ्जालसँग जोड्न योगदान दिए ।

देउवाकै पालामा विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने हेतुले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गरिएका थिए ।

नकारात्मक पाटो

देउवा कतिपय नकारात्मक कामहरुका निम्तिसमेत चर्चित छन् । विशेषतः उनी नेपालमा संसदीय विकृतिका सूत्रधार मानिन्छन् । उनी प्रधानमन्त्री हुँदाका बखत नै संसद किनबेचदेखि सुत्केरी भत्तासम्मका प्रकरण उब्जेका थिए ।

देउवाकै कार्यकालमा सबै सांसदलाई भन्सार सुविधामा पजेरो गाडी दिने विवादास्पद निर्णय भएको थियो । सरकार टिकाउनका लागि मन्त्रालय फुटाउने र जम्बो मन्त्रिमन्डल बनाउने सिलसिला उनैले सुरु गरेका हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment