– सिपी अर्याल
‘दिदी, मलाई पनि हेभी इक्विपमेन्ट चलाउने आँट आयो । म यो सिक्छु ।’
गुल्मीकी एक युवतीले यस्तो अठोट सुनाउँदा मुलुककै पहिलो एक्स्क्याभेटर चालक मुना घिमिरेका आँखामा हर्षका आँसु बगिरहे । ती युवती मुनाको कठिन जीवन–संघर्ष थाहा पाएर राजधानी उत्रिएकी रहिछन् । मुनाले सम्झिन्, कुनै बेला हेभी (भारी) गाडीको लाइसेन्स लिन ट्रायल दिन लाग्दा ट्राफिक–प्रहरीले गिज्याएका थिए, ‘तिमीलाई मोटरसाइकलको ब्याकगियर लगाउन आउँछ ?’
मुनाको कथा दुई दशकअघि नै सुरु हुन्छ । त्यतिखेर मस्र्याङ्दी जलविद्युत् आयोजना बनिरहँदा पहाडका थुम्केली डाँडामा चिप्लेकीराझैँ घस्रेर हिँड्ने पहेँला गाडी देखेर दंग पर्थिन् मुना । गोरखामा जन्मिएर आँबुखैरेनीमा हुर्किएकी उनी स्कुल आऊजाऊ गर्दा त्यस्ता गाडी देख्थिन् । र, बाटोमै ट्वाँ पर्दै त्यो हेरिबस्थिन् । मनमा विचार आउँथ्यो, त्यस्तो ठूलो गाडी चलाउने मान्छे पनि कति बलियो होला !
विसं ०५५ तिर मुना १४ वर्षकी हुँदी हुन् । घरको अवस्थाका कारण पहाडकी नानी रिसेप्सनिस्ट भएर काम गर्न हिँडिन् नेपालगन्जको एक कन्स्ट्रक्सन कम्पनीमा । फेरि पनि दंग परिन्, अजंगका गाडी नेपालगन्जमा देख्दा । आँबुखैरेनीमा हुँदा प्रश्नको पहाड उठाउँथिन् मनमनै– बाटो घुमाउरो भएकाले सुस्तरी चिप्लेका होलान् कि ? तर, नेपालगन्ज पुगेर देखिन्, ती गाडी समथर बाटोमा पनि सुस्तरी गुडेका । अब जानिन्– गाडीको काम मान्छे बोक्ने मात्र होइन ।
मुना परिपक्व त थिइनन् तर हुनुचाहिँ परेको थियो । फाइल मिलाएर च्याट्ट पार्ने, फोन रिसिभ गर्ने आदि कामबाट केही फुर्सद निस्किनेबित्तिकै तिनै अजंगका गाडी हेरेर बसिरहन्थिन् । कन्स्ट्रक्सन कम्पनीमा उनका ‘बोस’ थिए, मानबहादुर लामा । ‘त्यो गाडीलाई एक्स्क्याभेटर भन्छन् ।’ एक दिन अचानक मानबहादुर मुनाछेउ आएर बोले । एकसुरले एक्स्क्याभेटरतिर हेरेर टोलाइरहेकी मुना झस्किइन्, ‘अनि त्यसलाई डोजर, ऊ परकोलाई क्रेन…।’ त्यहीबेला हो ती गाडीको नाम जानेकी । सायद, मानबहादुरले जिस्काएका थिए मुनालाई, ‘सक्छेऊ त्यो मोटर चलाउन ?’
‘सिके त सकिहाल्छु नि सर,’ मुनाले लामाको आँखामै हेरेर भनिछन् । त्यो चलाउने उनलाई आँबुखैरेनीदेखिकै रहर थियो । त्यही रहरले काम गर्यो होला । जवाफ सुनेपछि मानबहादुर केही नबोली लुरुलुरु आफ्नो अफिसतिर हिँडे । धेरै दिनसम्म त्यही उपक्रम जारी थियो त्यहाँ, बाहेक मानबहादुरको सोधाइ । मुना हरेक दिन देख्थिन्, निर्माणका लागि केके हो केके गाडी घ्यारघ्यार घुरघुर गर्दै हिँड्थे । कोही सुस्ताएर बस्थे । कोहीचाहिँ बिरामी परेर थन्किएका हुन्थे । र केहीले, मान्छेलेझैँ पाखुरा सुर्किएर काम गर्दै गरेका हुन्थे । एकदिन मानबहादुरले भनिदिए, ‘त्यो चलाउने मन भए सिक न त !’
यतिन्जेल मुनाको जीवनमा कास्टिङ मात्र चल्दै थियो, कहानी सुरु भएको थिएन । त्यो बेला १६ वर्षकी थिइन् कि ! अब हाकिमले नै ‘सिक्ने मन भए सिक’ भनिदिएपछि मुना फुरुंग भइन् । बाटो खुल्यो । तर, ‘लौ सिक’ भनेर कसैले साँचो थमाइदिन्थेन । त्यसैले पहिले सिकिन्, एक्स्क्याभेटर, क्रेन, लोडर, डोजर आदिमा ग्रिज गर्ने कसरी, डिजल, मोबिल कहाँ कसरी हाल्ने ?
ती मसिन चलाउन जानेर मात्र त भएन । त्यो चलाउनुअघि त्यसको मर्मत गर्ने कला जान्नुपथ्र्यो, जानिन् । अब बाँकी थियो हुटहुटी त्यो चलाउने । एक्स्क्याभेटरको साँचो कहाँ राख्छन्, थाहा थियो उनलाई । सेटिङ गरेर एक बिहान एउटा कोठामा लुसुक्क छिरिन् । साँचो झिकिन् । अनि बढिन् त्यही अजंगको मसिनतिर । किनभने, उनलाई थाहा थियो ‘कि आँटले खान्छ कि ढाँटले खान्छ’ भन्ने । उनले ‘आँटेरै खाने’ जमर्को गरेकी थिइन् ।
त्यसपछि, सरासर गएर एक्स्क्याभेटर भुरुरुरु पारेर स्टार्ट गरिन् अनि एउटा टिप्परमा भकाभक माटो भर्न थालिन् । सबैथोक दिनदिनै देखेर त्यति सिकेकी थिइन् । कसैले सिकाएको थिएन, त्यसैले गर्व त थियो । तर, बन्नु थियो लामो रेसको घोडा । जित्नु थियो, एउटा यस्तो म्याराथन जुन सायद जीवनभर चलिरहन्छ !
छोटो समयमै कथा मोडियो, चितवनस्थित कालिका कन्स्ट्रक्सनतिर । नेपालगन्जमा एक्स्क्याभेटर चलाउन जान्ने भएपछि अर्को जागिरको खोजीमा थिइन् । आइन् चितवन । र, त्यहाँ नेपालकै नामुद कन्स्ट्रक्सन कम्पनीमा काम थालिन् । काम गरिर हँदा मानिसहरू उनलाई क्वारक्वार्ती हेर्थे, बाटो पूरै जाम हुन्थ्यो । उनले त जीवन धान्न पौरख गरिरहेकी थिइन् । तर, मान्छेहरूले ठानिदिए मुनाले केही जादू देखाइरहेकी छन् । केहीले उनलाई उडाए पनि । त्यस्तै गर्नेमा आममानिस मात्र नभएर सरकारी संयन्त्र पनि थियो ।
कामका सिलसिलामा गुजरात पुगिन् र त्यहीँको सवारी चालक अनुमतिपत्र पनि पाइन् । चितवनमा एक बहिनीलाई आफ्नो काम सुम्पिएर करिअरको आकार बढाउन काठमाडौँ आइन् । संघर्ष गर्दै जाँदा मीनभवनको सरकारी कार्यालय हेभी इक्विपमेन्ट डिभिजनमा करारमा नियुक्त भइन् । नेपालकै पहिलो महिला हेवी इक्विपमेन्ट चालक भइन् । लोकसेवा आयोगको परीक्षा दिएकी छन्, रिजल्ट पर्खंदै छन् । भन्छिन्, “निस्कन्छ होला नाम ।”
९ कक्षामा रोकिएको पढाइलाई पनि उनी अहिले अघि बढाइरहेकी छन् । हालसालै प्लस टू गरेकी छन् । उनले एक्स्क्याभेटर चलाउने लाइसेन्स भने ०६२ मा मात्रै पाइन्, चलाउन जानेको त ०५६ मै हो । चलाउन जान्ने भए पनि लाइसेन्स नपाउनुको एउटा कारण सरकारी नीति । हेभी इक्विपमेन्ट काठमाडौँ डिभिजन प्रमुख शिवराम यादव भन्छन्, “कसैले एक्स्क्याभेटर चलाउन जानेको छ भने उसलाई लाइसेन्स दिन पहिला चारपांग्रेको लाइसेन्स किन माग्ने ?”
यही बेकामे सरकारी नियमकै कारण मुनाजस्ता महिला यस्तो पेसामा आउन सक्दैनन् । र, सामाजिक सोच त छँदैछ । केही महिला सुरुमा रुचि लिएर गह्रुँगा यी सवारी साधन चलाउन सिक्छन् तर लाइसेन्स लिने लफडाका कारण मन त्यो मसिनजस्तै गह्रुँगो बनाएर घर फिर्छन् ।
आफूले झेलेजस्तो अप्ठ्यारो अरू महिलाले नभोगून् भन्नका लागि मुना केही गर्न चाहन्छिन् । महिलाका लागि यस्ता इक्विपमेन्ट सिक्ने छुट्टै संस्था खोलियोस् । सामाजिक नजर फेरियोस् । सरकारी जागिरका लागि तिनको अध्ययन अनुसारको पाठ्यक्रम बनाइयोस् र इन्जिनियरसँग भिड्नु नपरोस् । यस अर्थमा उनी भाग्यमानी पनि छिन । किनभने, यादवजस्ता सहयोगी मन भएका मान्छे उनका हाकिम छन् । यादव मुनाजस्ता महिलालाई राज्यले सकारात्मक विभेद गरेर भए पनि उकास्नुपर्छ भन्ने मान्यता राख्छन् ।
यो काममा लाग्न बाआमाले मुनालाई नजा भनेनन्, भाँजो हालेनन् । अन्तरजातीय विवाह गरेकी उनका पति पनि यही क्षेत्रमा काम गर्छन् । भन्छिन्, “श्रीमान्लाई मैले नै सिकाएकी हुँ हेभी इक्विपमेन्ट चलाउन ।” एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने क्रममा उनीहरूबीच प्रेम विवाह भएको हो ।
अझै पनि समाजमा कामको स्तर छुट्याउने चलन छ । महिला भएर पनि त्यस्तो गह्रुँगो साधन चलाउने भन्दै आँखा तर्नेलाई मुना सीधै भनिदिन्छिन्, “छोरा या छोरी पाउँदा आमाले भोग्ने प्रसव पीडामा फरक हुन्छ र ?”
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment