२० चैत, काठमाडौं । श्रीलंकाले प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकाले नेपाललाई घरेलु कोर्टमा ७५-४९ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो । श्रीलंकाको जितमा गालागे इरान्डीले १४ अंक योगदान गरिन् । नेपालकी भावना लामाले ११ स्कोर गरिन् ।
हारसंगै नेपालले उपविजेतामा चित्त बुझाउनु पर्यो । आयोजक नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली महिला टिमलाई प्रोत्साहन स्वरुप १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने जनाएका छन् ।
समान ३-३ खेल जितेका श्रीलंका र नेपालबीच भएको प्रतियोगिताको अन्तिम खेल नै फाइनल सरह थियो । उक्त खेल जसले जित्यो उपाधि त्यही टिमको पोल्टामा पर्ने निश्चित थियो ।
चार क्वाटरको खेलमा नेपालले कुनैपनि क्वाटरमा अग्रता लिन सकेन । पहिलो क्वाटरमा श्रीलंकाले १५-९ को अग्रता लिएको थियो भने दोश्रोमा २०-१३ ले अगाडि रह्यो । श्रीलंका तेश्रोमा १७-१६ तथा चौथोमा २३-९ ले अघि थियो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा श्रीलंकाले नेपाल विरुद्धको खेलमा मात्र समग्रमा तेहोरो अंक जोड्न सकेन । अपराजित रहँदै लगातार चार खेल जितेको श्रीलंकाले नेपाललाई हराउनुअघि माल्दिभ्सलाई १०५-३९, भुटानलाई ११२-३१ तथा बंगलादेशलाई ११५-११ अंकले हराएको थियो । त्यस्तै नेपालले बंगलादेशलाई ९२-२६, माल्दिभ्सलाई ७७-३६ तथा भुटानलाई ९०-३२ ले पन्छाएको थियो ।
चार खेलमा समान २-२ जित र हारको सामना गरेको माल्दिभ्स तेश्रो भयो । भुटानले चौथो स्थानमा यात्रा टुंगायो । भुटानले १ जित र ३ हार व्यहोर्यो । जितविहीन बनेको बंगलादेश पुछारबाट पहिलो स्थानमा रह्यो ।
शनिबारै पहिलो खेलमा भुटान र बंगलादेश भिडेका थिए । त्यसमा भुटान ६१-२९ ले अगाडि रहँदै सान्त्वना जित निकाल्यो । भुटान १८-२, १९-८, ११-१२ र १३-७ ले विजयी भयो । भुटानको स्कोर बोर्डमा पेम छिरिङले सर्वाधिक २७ स्कोर थपिन् ।
दक्षिण एसियामै नेपालले पहिलोपटक आयोजना गरेको पाँचदिने दक्षिण एसियाली महिला बास्केटबलमा जम्मा १० खेल खेलाइएको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment