वरिष्ठ पत्रकार किशोर नेपालले अन्तरवार्ता लिन बत्तिसपुतलीमा रहेको एउटा कार्यालयमा बोलाए । कार्यालय उनको आफ्नै रहेछ । हामी पुग्दा उनी कम्युटरमा तास खेल्दै थिए । हामीले नमस्ते गर्यौं । कम्युटरमा एकोहोरिएका उनले मुन्टो नघुमाइकन भने, ‘ल, के छ सोध ।’ प्रश्न राखेपछि बल्ल कुर्सी घुमाए, अनि चिउडोमा हात राखेर जवाफ दिन थाले ।
तपाईंको पारिवारिक पृष्ठभूमि बताइदिनुस न ?
मेरो त्यस्तो विशेषखालको पृष्ठभूमि छैन । अरुको जस्तो हुन्छ, मेरो पनि त्यस्तै हो । के बताइरहनु ?
तैपनि, यत्तिको मान्छेको पृष्ठभूमि पाठकले जान्न पाउनुपर्यो नि..
मेरा पिताजी राजा महाराजको पण्डित हुनुहुन्थ्यो । उहाँको लामो कालखण्ड भारतमा बित्यो । यद्यपि म जन्मेपछि नेपालमै बस्नुभयो । मेरो पढाइ चाबहिलको पशुपति विद्यालय र दरबार हाइस्कुलमा भयो । क्याम्पस त्रिचन्द्रमा पढेँ । यही हो ।
पत्रकार किन र कसरी बन्नुभयो ?
सानैदेखि पढ्ने भोक ठूलो थियो । पढ्दै जाँदा लेख्ने भोक उत्पन्न भयो । कविता-कथा लेख्न थालेँ । लेख्दै जाँदा पत्रकारिताको सोख उत्पन्न भयो । विद्यार्थी कालमा म राजनीतिमा पनि संलग्न रहेँ । त्यसमार्फत पनि पत्रकारितासँग नजिक भइयो । एसएलसीपछि नेपाल टाइम्स दैनिकमा रिपोर्टिङ गरेर आफ्नो पत्रकारिता यात्रा थालेको हुँ । अन्ततः यही क्षेत्रमा ४५ वर्ष बितिसकेछन् ।
तपाईंले यात्रा सुरु गर्दा नेपालको पत्रकारिता कस्तो अवस्थामा थियो ?
पञ्चायतकालमा पत्रकारिता गर्नु कठीन र जोखिमपूर्ण पनि थियो । तरवारको धारमा टेकेर हिँडेजस्तो हुन्थ्यो । कतिपय अवस्थामा सेन्सर अफिसर नै पत्रिकाको अफिसमा आएर धर्ना दिन्थे । उनीहरुको आँखा अगाडि समाचार सम्पादन गर्नुपथ्र्यो । समाचारमा तलमाथि भए तुरुन्तै सीडीओ कार्यालयले पुर्जी काट्थ्यो । उस्तै परे जेल हाल्थ्यो ।
आर्थिक पक्षबाट खासै केही थिएन । नेपाल टाइम्समा मासिक सय रुपैयाँ आउँथ्यो । त्यसले गुजारा गर्न कठीन हुन्थ्यो । ०३४ सालतिर गोरखापत्र ज्वाइन गरेँ । त्यहाँ मासिक ५ सय कमाउने भएँ । पञ्चायतकालको अन्तिमतिर रोयटर्समा चार वर्ष काम गरेँ । त्यस कालखण्डमा मेरो आर्थिक अवस्था अलिकति उकासियो ।
प्राविधिक हिसाबले हेर्दा रिपोर्टिङ गर्ने काम सकसपूर्ण नै थियो । मोबाइल, इन्टनरनेट, इमेल फ्याक्स केही पनि नभएका बेला घटनास्थलमै नपुगिकन समाचार संकलन सम्भव थिएन । कसैको अन्तरवार्ता लिनुपर्यो भने पहिले घरमै पुगेर टाइम लिनुपथ्र्यो । घरमा जाँदा मान्छे भेट हुने टुंगो नहुने । आफ्नो निजी सवारी साधन थिएन । काठमाडौंमा प्रायः हिँडेरै रिपोर्टिङ गरिन्थ्यो ।
तपाईं पहिले आफ्नो नाम पछाडि ‘झुत्रे’ टाइटल लेख्नुहुथ्यो रे । पछि किन छाड्नुभयो ?
त्यो धेरै पहिले हो, जतिबेला म भर्खर-भर्खर साहित्य लेख्न थालेको थिएँ । त्यतिबेला बिचित्र-बिचित्रका टाइटल राख्ने लहरै थियो । कसैले अभागी राख्थे, कसैले पागल, कसैले बेसहारा, कसैले के । मैले झुत्रे राखेँ । युनिक शब्द खोज्ने क्रममा यही भेटेँ । पछि आफैंलाई मन पर्न छाड्यो, अनि हटाएँ ।
किशोर नेपालले नचाखेका मिडिया खासै छैनन् भनिन्छ । अहिलेसम्म कति मिडियामा काम गर्नुभयो ? गणना गर्नुभएको छ ?
४५ वर्षसम्म एउटै मिडियामा झुण्डिएर बस्ने कुरा आउँदैन । पक्कै पनि धेरै मिडिया चाखेको छु । तर, सबै भ्याएको छु भन्ने होइन ।
नेपाल टाइम्स र दैनिक नेपालमा केही समय काम गरेपछि गोरखापत्र प्रवेश गरेँ । म प्रजातान्त्रिक हक-अधिकारको वकालत गर्दै आएको मान्छे । तत्कालीन राज्यसत्ताको गुणगान मात्रै गाउने गोरखापत्रमा लामो समय टिक्ने अवस्था रहेन ।
गोरखापत्र छाडेर केही साथीहरुसँग मिलेर देशान्तर साप्ताहिक निकालें । ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि मिडियाहरुको बाढी नै आयो । यसबीचमा कान्तिपुरमा दुईपटक काम गरेँ । ०५० सालतिर सहकर्मीहरुसँग विवाद भएर म त्यसबाट निस्केँ ।
पहिलोपटक कान्तिपुर दैनिकमा सवा एक वर्षजति काम गरेँ । मेरा मित्र योगेश उपाध्याय सम्पादक र म समाचार संयोजक थिएँ । दोस्रोपटक नेपाल म्यागजिनको सम्पादक भएर गएँ । दुई वर्षजति चलाएँ ।
देशान्तरपछि आफ्नोसमेत लगानीमा नयाँ सडक दैनिक सुरु गरेँ । त्यो डेढ वर्ष चल्यो । आर्थिक संकटले बन्द भयो । पछिल्लोपटक शुक्रबार साप्ताहिक र नागरिक दैनिकको सम्पादक भएँ । त्योपछि छाडेर अहिले आफ्नै ढंगले काम गरिरहेको छु ।
नयाँ सडकमा निकै पैसा डुबाउनुभयो क्यारे होइन ?
सम्पूर्णरुपमा मेरो सोच र अवधारणा अनुसार निकालिएको थियो नयाँ सडक । त्यसमा मेरो लगानी १० प्रतिशत थियो । पत्रिका नचलेको होइन, चलेको हो । तर, बिक्रीको भरमा मात्रै नाफा कमाउने खालको त्यो पत्रिका थिएन । त्यतिबेला विज्ञापन बजार पनि राम्रो थिएन । त्यसैले खर्च धान्न सकिएन ।
पत्रिका बन्द हुँदा सबैभन्दा आर्थिक मारमा म परेँ । मलाई व्यक्तिगत २५-३० लाख घाटा भयो होला । मेरो औकातअनुसार यो ठूलै रकम हो । तर, पैसा डुब्यो भनेर रुँदै हिँडिन । आफ्नो यात्रा जारी राखेँ ।
कुनै पत्रकार एउटा मिडियामा दुई वर्षभन्दा बढी काम गर्छ भने उ नालायक हो । पत्रकार भनेको चलायमान नै हुनुपर्छ
लुगा फेरेजस्तो मिडिया फेर्दै हिँडिरहनुभएको छ, एउटै मिडियामा लामो समय टिक्न नसक्नुको कारण चाहिँ के हो ?
म कुनै खरदार, सुब्बा वा शाखा अधिकृत होइन, एउटै जागिरमा जीवनभर अल्झेर बस्ने । मेरो मान्यता के छ भने कुनै पत्रकार एउटा मिडियामा दुई वर्षभन्दा बढी काम गर्छ भने उ नालायक हो । पत्रकार भनेको चलायमान नै हुनुपर्छ ।
एउटै मिडियामा लामो समय बस्दा पत्रकार कुँजो हुन्छ । मेरो हकमा कुनैमा घाटा लागेर पत्रिका बन्द भो, टिकिनँ । कुनैमा सहकर्मीसँग मतभेद भो, निस्केर हिँडे । कुनैमा यत्तिकै झ्याउ लागेर छाडेँ । कुनैमा मलाई नियुक्ति दिनेले नै निस्केर जा भन्यो, गएँ ।
तपाईंजतिको हस्तीलाई प्रकाशकले निस्केर जा भन्नु त तीतो अनुभव हो नि होइन र ? त्यसको प्रतिवाद किन गर्नुभएन ?
प्रकाशकलाई सम्पादक फेर्न मन लाग्छ, फेर्छ । काम दिनेले नै निस्केर जा भनिसकेपछि के म उसको पाउ समातेर बसिरहनु ? कि म जाँदै जान्न भनेर झगडा गर्नु ? त्यसरी बसिरहनुको के अर्थ छ ?
एउटा पत्रिकामा फ्यामिली बोर्ड हुन्छ । आफू चेयरम्यान हुन्छन् र श्रीमती-छोराछोरीलाई बोर्ड मेम्बर बनाउँछन् । त्यस्तो बोर्डले निर्णय गरेर हटाउँछ, सकियो । यहाँका पत्रिकामा थोडी कुनै कर्पोरेट कल्चर छ र आफ्नो कुरा राखेर मालिकविरुद्ध लड्न सकियोस् ?
त्यसो त सम्पादकको जिम्मेवारीमा रहँदा तपाईं आफैं पनि मालिकको रुपमा प्रस्तुत हुने गरेको चर्चा सुनिन्छ नि पत्रकारमाझ ?
हो, म गर्छु । सत्य कुरा हो । मेरो पत्रकार मेरो अनुशासनमा नबसेर आफ्नै तालमा काम गर्न थाल्यो भने गाली गर्छु । कारवाही पनि गर्छु । जिम्मेवारीभन्दा बाहिर गएर काम गर्छ भने एक्सन लिने कि नलिने ?
मेरो आक्रामक स्वभाव सबैलाई थाहा छ र मेरो अन्डरमा काम गर्ने पत्रकारहरु यही स्वभावमा खुशी हुन्छन् । मैले यसरी कडा अनुशासनमा राखेर नसिकाएका भए आज यति राम्रा पत्रकारहरु उत्पादन गर्न सक्ने थिइनँ । अहिले बजारमा हेर्नुस, मैले काम सिकाएका रिपोर्टर र सम्पादकको भिड छ ।
तपाईंले पत्रकारिता गरेर मित्र धेरै कमाउनुभयो कि सत्रु ? कुनै लेखाजोखा गर्नुभएको छ ?
गरेको छैन । लेखाजोखा गरेर बस्ने फुर्सद छैन । म मित्र कमाउनकै लागि पत्रकारिता गर्दिन । सत्रु जन्मिन्छन् भने पनि वास्ता गर्दिँन । कसैलाई खुशी पार्न वा कसैसँग बदला लिन म लेख्दिँन ।
खासमा पत्रकारको न कोही मित्र हुन्छ, न कोही सत्रु । कहिलेकाहीँ नजिकको मित्रविरुद्ध पनि कलम चलाउनुपर्ला । कहिलेकाहिँ सत्रुको पनि तारिफ गरेर लेख्नुपर्ला । रिसाउनेलाई रिसाउन दिने हो । खुशी हुनेलाई खुशीमा रम्न दिने हो । आज खुशी हुने भोलि रिसाउँछ, भोलि रिसाउने पर्सि खुशी हुन्छ । यस्तै चल्छ ।
आफू देशमा कति लोकप्रिय वा अलोकप्रिय छु भन्ने लाग्छ ?
त्यो पनि म जान्दिनँ । म पत्रकारिता गर्ने क्रममा देशका अधिकांश भागमा घुमेको छु । बालबच्चाहरुले पनि चिन्छन् । सेलीब्रेटी जस्तो गर्छन् । त्यो देखेर म फुरुक्क पर्दिँन । ट्वीटरमा मेरा कति फलोअर छन्, फेसबुकमा कति लाइक छन् भन्ने हेरेर आनन्द लिने पनि गर्दिन । यी सबै आत्मरति हुन् । क्षणिक हुन् ।
तपाईं आउनुभो, कुरा गर्नुभो । भोलि छाप्नुहुन्छ । राम्रैसित लेख्नुभयो भने ‘ल धन्यवाद’ भन्ने हो । अलिकति चित्त बुझेन भने ‘भाइ बिग्रेछ है, तैपनि धन्यवाद’ भन्ने हो । म गदगद हुँदै ‘अनलाइनखबरबाट चिरञ्जीवी आएर इन्टरभ्यू गर्यो है’ भनेर नाच्दै हिँड्ने कुरा आउँदैन ।
बजारमा एउटा चर्चा के छ भने तपाईं जिल्लाहरुमा गएर आफूलाई पत्रकारको रुपमा चिनाउँदा ‘ऋषि धमलालाई चिनेको छ ?’ भनेर सोध्छन् रे, हो ?
हुन सक्छ । त्यस्तो भएको छैन भन्दिनँ । यो ठूलो कुरा होइन । कसैलाई ऋषि धमला नै ठूलो पत्रकार लाग्छ रे । टेलिभिजनमा दिनदिनै नेताहरुको अघिपछि देखेका हुन्छन् । ठूलो मान्नु स्वभाविक पनि हो । म ऋषि धमला केही होइन पनि भन्दिँन । सारा नेताहरुसँग पहुँच बनाएको छ, क्लव चलाएको छ । पत्रकारहरुलाई लाइन लगाएर पुरस्कार बाँडेको छ । उसले नगरेको के छ ?
मैले अघिल्लो हप्ता हरि अधिकारीसँग कुरा गरेको थिएँ । तपाईंको पुरानो दोस्त हुनुहुँदोरहेछ । उहाँको गुनासो थियो कि कसैसँग तपाईंको लामो सम्बन्ध हुँदैन, तपाईंको चरित्र नै त्यस्तो छैन । हो ?
मैले पढेको थिएँ । हरि अधिकारी को हो भन्ने मलाई थाहा छैन । जो मान्छेसँग मेरो २० औं ३० औं वर्षदेखि देखभेट नै भएको छैन, ऊ कसरी मेरो दोस्त ? केको दोस्ती ?
हरेक मित्रताको एउटा सान्दर्भिकता र औचित्य हुन्छ । त्यसको निश्चित कालखण्ड हुन्छ । कसैसँग पनि अनन्तकालसम्म सँगै रहन सकिन्न । लामो सम्बन्ध हुने भनेको त श्रीमतीसँग मात्रै हो । हरेक मान्छेको सेन्टर आफू नै हो । सँधै पुराना मित्रहरुकै पछि लागेर हिँड्ने हो भने नयाँ मित्र कसरी बनाउने ?
प्रत्येक ठूला सम्पादकले देशका महत्वपूर्ण नेतासँग सकेसम्म राम्रो सम्वन्ध बनाउनुपर्छ । उनीहरुको बेडरुमसम्म पुग्ने हैसियत राख्नुपर्छ
तपाईं कांग्रेस पृष्ठभूमिको व्यक्ति । तर, पछिल्लो समय एमाओवादी अध्यक्ष प्रचण्डको एक नम्बर प्रशंसक भन्नुभयो । उहाँलाई झण्डै देउताकै तहमा राखेर लेख्नुभयो । यसमा अलि विरोधाभास भएन ?
पहिलो कुरा मलाई कांग्रेस देख्ने तपाईंको आँखा दोषी हो । हो, म प्रजातन्त्रमा विश्वास राख्छु, प्रजातान्त्रिक शक्तिमा विश्वास राख्छु । कांग्रेसलाई भोट पनि हालेँ होला । तर, यसको अर्थ म कांग्रेसी होइन, खालि पत्रकार हुँ ।
मजतिको हैसियत बनाएको मान्छेेले प्रचण्ड जस्तो व्यक्तिसँग झगडा गरेर पत्रकारिता गर्दैन । माधव नेपाल, केपी ओलीहरुसँग पनि झगडा गर्दैन । सबैसँग सन्तुलन बनाउँछ । प्रत्येक ठूला सम्पादकले देशका महत्वपूर्ण नेतासँग सकेसम्म राम्रो सम्वन्ध बनाउनुपर्छ । उनीहरुको बेडरुमसम्म पुग्ने हैसियत राख्नुपर्छ । म त्यो हैसियत राख्छु ।
मेरो सबैसँग हार्दिक सम्वन्ध छ । मैले प्रचण्डको प्रशंसा गरेँ, जतिबेला उनी प्रशंसाका योग्य थिए । माओवादी जनयुद्धमा जनता दुई बन्दुकको बीचमा चेपिएका थिए । प्रचण्डले माओवादीलाई शान्ति प्रक्रिया ल्याएर देशलाई त्राण दिए । त्यस्ता प्रचण्डको मैले प्रशंसा नगर्नु ?
तर, अचेल प्रचण्डको प्रशंसा गर्न छाडिसकें । किनकि उनले प्रशंसा लायक कुनै काम गरेका छैनन् । अचेल म उनको कटु आलोचना गर्छु । तपाईंले अचेल मेरा लेखहरु नै पढ्नुभएको छैन जस्तो छ । पढ्नुस् अनि प्रश्न गर्नुस् ।
केपी ओलीले देश र जनतालाई पाँचवटा काम के गरे ? त्यो मलाई बताइदिनुस् । भगवानको त आलोचना हुन्छ, हु इज केपी ओली ?
अनि पछिल्लो समय तपाईंको कलमले प्रधानमन्त्री केपी ओलीलाई एकोहोरो धावा बोल्नुको कारण चैं के हो ?
मैले धावा-सावा बोलेको छैन । उहाँ भाषण गर्नुहुन्छ, हामी हाँस्छौं, ‘रियाक्ट’ गर्छौं । त्यति पनि गर्न नपाउने ? केपी ओलीले देश र जनतालाई पाँचवटा काम के गरे ? त्यो मलाई बताइदिनुस् । भगवानको त आलोचना हुन्छ, हु इज केपी ओली ?
तपाईंको लेखाइको प्याट्रन, विशेषगरी भारतीय नाकाबन्दी यता, कताकता प्रायोजित जस्तो देखिन्छ नि ? आलोचकहरुले ‘भारतीय दलाल’ भन्नसम्म बाँकी राख्दैनन्
अन्धराष्ट्रवादीहरुले भन्ने कुरा हुन् यी । म मधेसमा बस्ने जनताको हक-अधिकारको पक्षमा छु । उनीहरु शोषित र उत्पीडित छन् । राज्यले उनीहरुलाई पाइला-पाइलामा विभेद गरेको छ । म त्यसको विरोधमा आवाज उठाउँछु । मधेसीहरुलाई इन्डियनका रुपमा हेर्नु हुँदैन भन्छु । त्यसो भन्दा मलाई ‘भारतको दलाल’ भन्छन् । यो मलाई मात्र होइन, अरुलाई पनि भन्छन् ।
अश्लीलता भन्या के ? नग्नतालाई अश्लीलताका रुपमा परिभाषित गर्नु ठीक होइन
आफूलाई चित्त नबुझ्नासाथ भारतीय दलाल भनेर मुक्ति पाइन्छ ? खोतल्दै जाने हो भने नेपालमा सबै भारतीय दलाल छन् । प्रधानमन्त्री ओलीसहित सबैलाई भारतीय दलाल भन्न सकिन्छ । किन मलाई मात्रै ?
तपाईंले नेपाली पत्रकारितामा अश्लीलता प्रवर्द्धन गर्नुभयो भन्ने सदाबहार आरोप लाग्छ । यसलाई कसरी जवाफ दिनुहुन्छ ?
बजारमा जे चलिरहेको छ, त्यही बेच्ने हो । अश्लीलता भन्या के ? नग्नतालाई अश्लीलताका रुपमा परिभाषित गर्नु ठीक होइन । नग्नता ब्युटी हो । यो सृष्टिको सबैभन्दा श्लील कुरा हो । हेर्ने दृष्टिकोण सफा हुनुपर्छ ।
तपाईं हलिउडदेखि बलिउडका नग्न सिनेमा खोजीखोजी हेर्नुहुन्छ । नग्नताको मजा लिनुहुन्छ । अनि बाहिर आएर भन्नुहुन्छ, किशोर नेपालले अश्लीलता फैलायो । पढ्न मन नलाग्नेले नपढ्दा भयो । रिजेक्ट माइ एडिटिङ । सो ह्वाट ? मान्छेले पढिरहेका छन् ।
मैले दुई-दुईवटा मनोरञ्जन पत्रिका स्थापित गरिदिएको छु । पाठकले जे खोजेका छन्, त्यो दिएको छु । मलाई हिजो नागरिकमा काम गर्दा हिन्दुवादीले कार्यालयमा आएर गोदे । पछि उनीहरु नै निहुरिए । जब समाजले समाजले स्वीकार गरिरहेको छ भने कसैलाई किन आपत्ति ? हु द हेल यू आर टु हिट द्याट एडिटर एन्ड म्यागजिन ?
पत्रिका चलिरहेको छ । तीसौं हजार, चालिसाैं हजार बिकिरहेको छ । गतिलो काम गरिस् भनेर स्यावासी दिनु त कता हो कता, अश्लीलता फैलायो भन्छन् । हिजो गोरखापत्रमा कलर मेसिन ल्याउदा पनि यसले डुबाउने भयो भन्थे । यस्तै नकारात्मक सोचले गर्दा देश पछि परेको हो ।
पत्रकारिता गरेर कति पैसा कमाउनुभयो ? कि कमाउनेभन्दा गुमाउने धेरै भयो ?
मैले यसको पनि हिसाब गरेको छैन । तर, यकिनसाथ भन्न सक्छु गुमाएकोभन्दा कमाएकै छु । पत्रकारिताबाटै बाँचेको छु र परिवारको भरण पोषण गरिरहेको छु । नत्र, ४५-४५ वर्षसम्म टिक्ने थिइनँ । कहिले भोकै परियो होला, कहिले निजी सम्पत्ति पनि यसैमा सिध्याइयो होला । तर, म कहिल्यै पनि विचलित भइँन ।
आफ्नो माटोमा लडिबुडी गरेको छु । यो सबै छाडेर म किन अमेरिकामा बसेर स्यान्डवीच बनाउन जाउँ ? देेशको माटोसँग जोडिएर काम गर्दाको आनन्द अन्त कहाँ छ ?
कठिन समयमा कहिल्यै यो पेशाबाट पलायन हुने सोच दिमागमा आएन ?
बिल्कुलै आएन । अवसरहरु थिए, नभएका होइनन् । पढेलेखेको मान्छे, जहाँ पनि बिक्न सक्थेँ । धेरै साथीहरुले अमेरिका बस, बेलायतमा बस, अवसर छ भन्थे ।तर, मलाई यहाँ जुन मजा छ, त्यो बेलायत र अमेरिकामा कसरी पाउँछु ? आफ्ना मानिसहरुको बीचमा छु । आफ्ना नागरिकहरुसँग अन्तरक्रिया गर्दै हिँडेको छु । आफ्नो माटोमा लडिबुडी गरेको छु । यो सबै छाडेर म किन अमेरिकामा बसेर स्यान्डवीच बनाउन जाउँ ? देेशको माटोसँग जोडिएर काम गर्दाको आनन्द अन्त कहाँ छ ?
एउटा पत्रकारका रुपमा तपाईंले कस्ता-कस्ता दुःखहरु सामना गर्नुभयो ?
पत्रकारलाई दुख मान्ने लक्जरी छैन । दुखमा नै सुखवोध गर्न सक्नुपर्छ । मैले आफ्नो आत्मसन्तुष्टिका लागि पत्रकारिता गरेँ । तर, मेरो आत्मसन्तुष्टिको निम्ति परिवारले बोझ उठाउनुपर्यो ।
मैले आफ्नो परिवारलाई सुखी जीवन दिन सकिँन । छोराछोरीलाई भनेजस्तो शिक्षा दिन सकिँन । श्रीमतीलाई देश-विदेश घुमाउन सकिनँ । घर-व्यवहारमा ध्यान दिन सकिनँ । तर, कसैको पनि मप्रति गुनासो छैन । यो पेशाको महत्व मेरो परिवारले बुझेको छ ।
तपाईंले आफ्नो जीवनमा गरेका रिपोर्टिङमध्ये सबैभन्दा आत्मसन्तुष्टि केमा छ ?
जति चुनौतिपुर्ण रिपोर्टिङ छ, त्यति नै आनन्द आउँछ । ०४५ सालको भूकम्पमा पूर्वाञ्चलमा गएर गहन रिपोर्टिङ गरे । पत्रिकामा लेखेँ, ‘राज्यलाई थाहा छैन पूर्वाञ्चल’ भन्ने शीर्षकमा । अहिलेको भूकम्पमा मिडियाहरुमा आएको रिपोर्टिङ भन्दा बेग्लै गहिराइ भएको रिपोर्टिङ थियो त्यो ।
ठूला दैनिकको सम्पादक हुँदा तपाईंले कस्ता-कस्ता दबावहरुको सामना गर्नुभयो ?
दबाव भनेको एडिटरको हैसियत अनुसार आउँछ । मजस्तो एडिटरलाई कसैले दबावै दिन सक्दैन । मलाई सहमतिमा ल्याएर काम गराउन सकिन्छ । तर, दबाव दिएर सकिँदैन । १८ महिना टेलिभिजनको अध्यक्ष हुँदा एक जना मन्त्रीको पनि दबाव मानिनँ । प्रधानमन्त्रीको पनि मानिनँ ।
तपाईंको आँखामा नेपालको सबैभन्दा गतिलो अखबार कुन हो ?
निसन्देह कान्तिपुर नै हो नि । संगठित र निस्पक्ष समाचार तथा विविधतापूर्ण विचारको समिश्रण कान्तिपुरमा जस्तो अरुमा छैन ।
अचेल दिनचर्या कसरी बितिरहेको छ ?
कम्युटरमा खेल्ने, अखबार पढ्ने, लेख लेख्ने, कफी खाने, साथीभाइसँग भेट्ने, छिल्लिने यस्तै हो ।
भावी योजना ?
केही छैन ।
प्रस्तुती- चिरञ्जीवी पौडेल
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment