– रमेश वाग्ले
पहिलोपोस्ट, काठमाडौं : नेपाली कांग्रेसलाई संसदीय दलका लागि नेताको आवश्यकता जति छ त्यति नै आवश्यकता छ संसदलाई प्रमुख प्रतिपक्षी दलको नेताको। प्रमुख प्रतिपक्षी दलको नेताकै अभावमा संवैधानिक परिषदले गत १६ गते प्रधान न्यायाधिश चयनको काम अघि बढाउन सकेन।
औपचारिक रुपमा उम्मेद्वारी सार्वजनिक नगरे पनि अहिले कांग्रेसमा दुई जना नेता संसदीय दलको नेताको प्रतिस्पर्धामा छन्। १३औं महाधिवेशनमा पार्टी सभापतिमा समेत प्रतिस्पर्धी बनेका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय दलको नेताको प्रतिस्पर्धामा भिड्ने तयारीमा छन्। यी दुई नेता २०६७ सालमा पनि प्रतिस्पर्धामा उत्रिसकेका छन्। त्यतिवेला शेरबहादुर देउवालाई पछि पार्दै रामचन्द्र पौडेलले संसदीय दलको नेतामा बाजी मारेका थिए।
तात्कालिन सभापति तथा संसदीय दलका नेता गिरिजाप्रसाद कोइरालाको निधनपछि संसदीय दलको चुनावमा आमनेसामने भएका देउवालाई यतिवेला त्यस वेलाको हारको बदला लिनु छ भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई भर्खरै सम्पन्न १३औं महाधिवेशनमा सभापतिमा भएको हारको बदला। उनीहरुलाई जति चुनाव लागेको छ त्यति नै लागेको छ त्यो पक्षमा लागेका अन्य नेताहरुलाई पनि। त्यसैले पनि कांग्रेसमा यतिवेला संसदीय चुनावको गर्मागर्मी छ।
२०७० माघको झल्को
अहिलेको संसदीय दल चुनावले वि सं २०७० सालको संसदीय दल चुनावको झल्को दिइरहेको छ। त्यतिवेला पर्टी सभापति थिए सुशील कोइराला अनि संसदीय नेताको चुनावमा उनीसँग प्रतिस्पर्धामा थिए शेरबहादुर देउवा। अहिले सभापति छन् शेरबहादुर देउवा र उनलाई टक्कर दिँदैछन् उनीद्वारा पराजित रामचन्द्र पौडेल।
कसको के चुनौती
सभापति देउवालाई पार्टीसँगै संसद्को पनि नेतृत्व गरेर आफ्नो शाख जोगाउँदै समग्र नेतृत्वमा स्थापित हुने चुनौती छ। उनले यस पटक पनि चुनाव जितेर पार्टीका नेताहरुको व्यवस्थापन गर्दै आफूलाई बलियो नेताको रुपमा उभ्याउनु छ भने आफूसँग आएकाहरुलाई पनि व्यवस्थापन गरेर आफूलाई गिरिजाप्रसाद कोइराला जस्तै बलियो नेताका रुपमा स्थापित गर्नुछ।
वरिष्ठ नेता पौडेलको प्रमुख चुनौती भनेको आफूलाई शक्तिमा राखिरहने नै हो। पौडेललाई पार्टी सभापतिमा स्थापित हुन नसकेर गुमेको शाख फर्काउने अर्को चुनौती छ भने १३औं महाधिवेशमा साथ लिएको टिम बचाइराख्नु पनि पौडेलका लागि ठुलै चुनौती हो।
विगतमा संसदीय दलको नेता समेत भएका पौडेल त्यबेला १७ पटक प्रधानमन्त्री चुनावमा भाग लिँदा समेत पराजित भए। उनले ‘आफ्नो शाख भन्दा पार्टीको शाख महत्वपूर्ण भएकाले छवि दाउँमा राखेर प्रजातान्त्रिक अभ्यासमा भाग लिएको’ बताउने गरेका छन्। सबैभन्दा धेरै पराजित भनेर उनीमाथि व्यंग्य हुने गरेकाले उनको यस्तो टिप्पणी आउने गर्छ।
संसदीय दलको नेता बनेर पनि सरकारको नेतृत्व गर्न नपाएका पौडेलले कार्यकर्तालाई व्यवस्थापन गर्ने र सर्वोच्च लाभको पदमा पुगेर सहयोग गर्ने अवसर पनि पाएका छैनन्। संसदीय दलको नेताको स्वाद चाखिसकेका उनी यस पटक चुनावबाट संसदीय क्षेत्रको नेतृत्व गर्दै आफूलाई सरकारको नेतृत्वसम्म पुर्याएर विगतमा नसकेका काम गर्न चाहन्छन् र १७ पटक पराजित भएर लागेको ‘वदनामी’ मेटाउन पनि।
१३औं महाधिवेशनमा सभापति लडेका उनी संसदीय दलको चुनावमा पनि पराजित भए भने उनी कांग्रेसको दोस्रो बरियताको नेता बाहेक केही हुने छैनन्। कांग्रेसको विधानमा वरिष्ठ नेता पद छैन त्यसैले उनी संसदीय दलको नेता निर्वाचित नभएमा पद विहिन झै हुनेछन्। त्यसैले उनले शक्तिको अभ्यास कायम राख्न पनि आफूलाई संसदीय दलको नेताका रुपमा उभ्याउन अन्तिम प्रयत्न गरिरहेका छन्।
दुई नेताबीचको सहकार्य
१२ औं महाधिवेशनमा सुशील कोइराला सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले एक व्यक्ति एक पदको नारा पार्टी भित्र गुञ्जाएका थिए। त्यो नारामा पौडेलले देउवालाई साथ दिएका थिए। तर, पौडेलले त्यही नारामा आफ्नो अडान भने कायम राखेनन्। यद्यपि पौडेल अहिले त्यही नाराको दाउ देउवालाई फर्काउँदैछन्।
दोस्रो संविधानसभा चुनावपछि पनि देउवाले त्यही कुरालाई समातेर सुशील कोइराला सभापति भएकाले संसदीय दलको नेतामा अर्को व्यक्तिलाई लैजानु पर्ने भन्दै आफ्नो दावी समेत प्रस्तुत गरे। त्यतिखेर भने देउवाको पक्षमा पौडेल उभिएनन्। सभापति सुशील कोइरालाले एक पटकका लागि संसदीय दलको नेता समेत बन्दै सरकारको नेतृत्व गरेर संविधान जारी गरेपछि विश्राम लिने भनेपछि पौडेलले कोइरालाई नै सहयोग गरे। देउवा सभापति कोइरालासँग पराजित भए। महाधिवेशनअघि नै कोइरालाको निधन भयो। यद्यपि कोइरालाले विश्राम लिने संकेतहरु केही देखाएका थिएनन्।
वि सं २०५१ सालमै संसदीय दलको नेता बनेर सरकारको समेत नेतृत्व गरिसकेका देउवालाई संसदीय दलको नेताको पदको गरिमा र शक्तिको अभ्यास कसरी गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ। त्यसैले पनि उनी आफ्नो सभापतिको पद र व्यक्तित्व बढाउनका लागि यो पद गुमाउन चाहँदैनन्।
मुख्य नेताहरुका लागि जति यो पदको चुनाव लागेको छ, त्यो भन्दा ज्यादा चुनाव लागेको छ उनीहरुको लाइनमा लागेका अन्य नेताहरुलाई। त्यसैले पनि दोस्रो तहका नेताहरु आफनो पक्षका नेतालाई संसदीय दलको नेता बनाउन कम्मर कसेर लागिरहेका छन्। अवको संसदीय नेताको चुनावमा जो नेताले चुनाव जित्दै गर्दा पनि जित्ने नेताका लागि भन्दा त्यो दोस्रो तहका नेताको राजनीतिको लागि निर्णायक हुन्छ र जित्नका लागि पनि निर्णायक पनि दोस्रो तह नै हुनेछ।
त्यसैले पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा रामशरण महत, बलबहादुर केसी, डा शेखर कोइराला, महेश आचार्य, दिलेन्द्र बडु, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी लगायतका लागि यो चुनाव पौडेलका लागि भन्दा ज्यादा महत्वको हुने छ भने नवनिर्वाचित महामन्त्री डा शशांक कोइरालाका लागि यो चुनाव प्रतिष्ठाको विषय नै बनिरहेको छ।
सभापति देउवालाई नै सभापतिमा निर्वाचित गराउनका लागि नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशरण महत, बालकृष्ण खाँड, पूर्णबहादुर खड्काका लागि पनि त्यस्तै छ। त्यसैले पनि उनीहरु शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन दौडधुप गरिरहेका छन्।
त्यसबाहेक देउवाका पक्षमा नेता खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुको पनि सहयोग छ। नेता खड्का पार्टी महाधिवेशनमा देउवासँग जोडिएका हुन् भने तनहुँका नेता गोविन्दराज जोशी रामचन्द्र पौडेलसँगको व्यक्तित्वको टकरावका कारण देउवालाई सहयोग गर्दैछन्।
त्यस बाहेक कृष्णप्रसाद सिटौला र गगन थापाहरुको भूमिका पनि बलियो छ। उनीहरुले देउवाले केन्द्रीय सदस्यमा नियुक्त गरेको गुन फर्काउने नैतिकता देखाउने छन् वा आफ्नो समूहलाई फरक रुपमा अघि बढाउने छन् त्यो हेर्न भने संसदीय दल चुनाव नै कुर्नुपर्ने छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment