२२ चैत, काठमाडौं । सरकारले १७२ शाखा अधिकृतहरुलाई ४३ जिल्लाका सबै सरकारी कार्यालयहरुको अवस्था अध्ययनका लागि खटाउने भएको छ । एक जिल्लामा चार-चार जनाको दरले शाखा अधिकृतहरुलाई मंगलबारदेखि खटाइने छ ।
उनीहरुले जिल्लाका सरकारी कार्यालयहरुमा कति दरबन्दी छ, कति कर्मचारी छन्, कति काजमा छन्, समस्या के-के छन् र ति समस्या समाधानका उपाय के हुनसक्छ भनेर प्रतिवेदन तयार पार्नुपर्ने छ ।
‘यसअघि आधारभूत प्रशासनिक ज्ञान लिनका लागि बिभिन्न जिल्लामा पठाउने गरिए पनि जिल्लाकै अबस्था समेटेर प्रोफाइल तयार पार्न भनिँदैनथ्यो यस वर्षदेखि नयाँ काम सुरु गर्न लागिएको हो,’ सामान्य प्रशासन मन्त्री रेखा शर्माले भनिन्, ‘पुरानै बजेटमा यो काम पनि गर्न लागिएको हो ।’
स्टाफ कलेज जावलाखेलमा आधारभूत प्रशासनिक तालिम लिइरहेका नयाँ शाखा अधिकृतहरुलाई साविकको कार्यालयमा पठाउनुअघि व्यवहारिक ज्ञान हासिल गर्न सरकारले बिभिन्न जिल्लाहरुमा पठाउने गर्दछ । त्यसबाफत् उनीहरुले नियमानुसार भत्ता पनि पाउँछन् ।
यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी कर्मचारीहरुले व्यवहारिक ज्ञान हासिल गर्ने र जिल्लामा देखिएका समस्या पहिचान गरी समाधानमा पनि सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माका अनुसार ति शाखा अधिकृतहरुको कार्यादेशबारे सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर जानकारी दिइएको छ । ‘जिल्लामा काम गर्दा सहज होस् भनेर सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर जानकारी गराइएको हो,’ सचिव शर्माले भने ।
नयाँ शाखा अधिकृतहरुलाई सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नगरपालिका लगायतका कार्यालयमा बसेर काम गर्ने जानकारी दिए । यसबाट काममा निखार आउने र सेवा प्रवाहमा सहज हुने उनले बताए । ‘बेसिक एडमिनिस्ट्रेशन ट्रेनिङ लिइरहेका अधिकृतहरुलाई जिल्लामा पठाउन लागिएको हो,’ सचिव शर्माले भने, ‘यो विद्यार्थीहरुले गर्ने इन्टर्नसिप जस्तै हो जसबाट व्यवहारिक ज्ञान मिल्नेछ ।’
उनीहरुलाई मंगलबार अपरान्ह प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) जावलाखेलमा औपचारिक विदाइ गरेर जिल्लाहरुमा पठाउने कार्यक्रम छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment