Monday, April 4, 2016

उद्यमी बसन्त चौधरी मोरोक्कोको विशिष्ट पदकबाट सम्मानित

२२ चैत, काठमाडौं । नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’ द्धारा विभूषित भएका छन् ।

नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता थप्ने कार्यमा पुर्‍याएको योगदान र यी दुई राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण दौत्य सम्बन्धलाई थप दरिलो पार्न गरेको अथक प्रयासका लागि चौधरीलाई उक्त सम्मान प्रदान गरेको बताइएको छ ।

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले एक समारोहबीच चौधरीलाई विभुषित गरेका थिए । नेपालका लागि मोरोक्कोका राजदूत लार्वी रिफोले चौधरीलाई विभूषित गरिदिन मन्त्री थापालाई अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाल र मोरोक्कोबीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता थप्न चौधरीले गरेको हर प्रयासबाट आफू अत्यन्तै प्रभावित भएको बताए ।

पश्चिम एशिया र युरोपबीच अवस्थित मोरोक्को अधिराज्य अति दू्रत गतिमा विकासोन्मुख अधिराज्य हो । कृषि, रासायनिक मल र पर्यटन मोरोक्को अधिराज्यका मुख्य आय-श्रोत हुन् भने उद्योग, खानी र माछा लगायतका समुद्री खाद्य पदार्थहरू यसका थप आय-श्रोतका माध्यम हुन् । यो विश्वकै अति दू्रत गतिमा अघि बढिरहेको पर्यटन गन्तव्य पनि हो, जसले हरेक वर्ष १ करोड २० लाख भन्दा बढी पर्यटकहरूलाई आकषिर्त गरिरहेको छ ।

Bashanta-Chaudhary

नेपालले चाहेको अवस्थामा मोरोक्को सरकारले कृषिजन्य उद्योग, सिँचाईका अत्याधुनिक प्रविधि, कृषि र पर्यटनका क्षेत्रमा पूर्वाधार निर्माण तथा मानव संशाधनको विकासमा साझेदारी, सहयोग, तालिम एवम् तकनिकी उपलब्ध गराउन सक्छ । विश्वमै मलखादको उत्पादनमा दोस्रो र त्यसको निर्यातमा पहिलो राष्ट्र भएको नाताले नेपालले चाहँदा तत्सम्बन्धी सहयोग अर्थात् कृषिजन्य उद्योग र खाद्य सुरक्षा बढाउन मलखादको आपूर्ति गर्न पनि सहयोग गर्न सक्छ ।

नेपाल पनि मोरोक्को अधिराज्यसँग राजनैतिक, साँस्कृतिक, व्यापारीक र प्राविधिक सहयोग आदान-प्रदान गर्न इच्छुक रहिआएको छ । अवैतनिक मानार्थ महावाणिज्यदूत चौधरीले आउँदा दिनहरूमा दुई देशका जनताबीच सम्बन्ध विस्तारका थप प्रयासहरू तथा महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ ।

चौधरीले सन् २००७ मा मानार्थ वाणिज्यदूतको कार्य सम्हालेका थिए । सन् २०१३ मईमा उनी मानार्थ महावाणिज्यदूतमा बढुवा भएका थिए । दुई राष्ट्रबीचको दौत्य सम्बन्ध भने सन् १९७५ मै स्थापित भएको हो ।

‘नेपाल र मोरोक्को एक आपसमा भौगोलिक रुपमा निकै टाढा रहेता पनि दुबै राष्ट्रबीच सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको र दुबै देशका जनताहरू एक आपसमा सम्मानजनक व्यवहार गर्छन’ चौधरीले भने । मोरोक्को अधिराज्यका राजा मोहम्मद छैटौंको सवल र गतिशील नेतृत्वमा मोरोक्को अधिराज्यले गरेको प्रगति र आधुनिकिकरणको उनले प्रशंसा गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment