– दिल निसानी मगर
‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’
तारादेवीले गाएको यो कालजयी गीत र अशोक श्रेष्ठको जीवनमा त्यति धेरै अन्तर छैन । अशोकले आफ्नो जीवनमा धेरैकुरा सोचे, सम्झे, देखेँ । तर आखिर जीवन भन्नु भोगाइ न रहेछ । र भोग्दै छन् उनी यस्तो उराठलाग्दो जीवन, जहाँ हाँस्छु भन्दा मुहारमा मुस्कान निस्कँदैन । बोल्छुभन्दा मुखबाट आवाज प्रस्ट आउँदैन ।
आशोकले जीवनका यी कठिन र चुनौतीपूर्ण दिनहरू एक्लै बिताएका छन् । भोकै छौ कि खायौ भनेर उनलाई सोध्ने कोही थिएन र छैन । एउटै थालमा खाएका साथीभाइ पनि उनीदेखि टाढा भए । आफन्तहरु नजिक आउनै डराउन थाले । उनीसँग बाँकी रह्यो एउटा, ऐना । जुन ऐनामा उनी हरेक दिन आफूलाई नियाल्ने कोसिस गर्छन् तर, धेरै बेर हेर्न सक्दैनन् ।
अशोकको एउटा आँखा ट्युमरले पुरिदिएको छ, अर्को आँखा आँसु बगाउनका लागि काफी छैन ।
‘बलियो मुटु नभएको भए म अहिलेसम्म झुन्डिएर मरिसक्थेँ होला,’ अशोक भन्छन्, ‘तर मलाई जीवनप्रति कुनै निराशा छैन । एकदिन पक्कै उपचार होला भन्ने आशामा बाँचिरहेको छु ।’
यद्यपि, आफूभित्र रहेको पीडाको अथाह सागर उनले लुकाउन सकेनन् । अनुहारमा ट्युमर आएपछि सामाजबाट आफूलाई हेर्ने दृष्टिकोण नै फरक भएको उनको तीतो अनुभूति छ ।
सहयोगका लागि
अशोकले आफ्नो उपचारार्थ रकम संकलनका लागि बैंक खाता नम्बर पनि सञ्चालनमा ल्याएका छन् । बैंक अफ काठमान्डुको बचत खाता नम्बर ०५११-०००-३६९६१ र ग्लोबल आईएमई बैंक डिल्लीबजारको बचत खाता नम्बर ३२०-७०१-०००-२२०८ मा जो कसैले इच्छाअनुसार सहयोग गर्न सक्छन् । अशोकसँग सीधा सम्पर्कका लागि उनको मोबाइल नम्बर ९८४१५३०७४१ रहेको छ । उनको इमेल हो, ashokshresha@gmail.com
‘मलाई देखेपछि कोही डराउँछन्, कोही पाप धुरीबाट करायो भन्दै हिँड्छन् त कोही खित्का छाड्दै हाँसेर फोटो खिच्न तम्सिन्छन् । म सबैलाई चुपचाप सहन्छु । राति सपनामा उपचार गराइरहेको देख्छु,’ अशोकको मुखबाट निस्केको यो शब्दले पंक्तिकारलाई झनै भावुक बनायो । विपनामा भने उनी कतैबाट उपचार गराउने पहल हुन्छ कि भन्दै भौँतारिन्छ छन् । सरकारका विभिन्न मन्त्रालयमा राहतका लागि धाए पनि केही हात लागेको छैन ।
‘उनीहरुले उपचारभन्दा पहिले नै उपचार गरेको रसिद खोज्दा रहेछन् । उपचार गर्नै पाएको छैन, कहाँबाट रसिद दिउँ ? राज्यमा कि आफ्नो मान्छे चाहिने रहेछ कि पावर । मसँग यी दुवै चिज छैनन्,’ अशोकले आक्रोश व्यक्त गरे ।
अशोकको बोली प्रस्ट बुझिँदैन । ट्युमर झन्, झन् बढेर पुरै अनुहार ढाक्ने गरी फैलिइरहेको छ । अनुमानित ५ किलोको देखिन्छ मासुको डल्लो । कति मुस्किल होला खाना खान, बोल्न, श्वास फेर्न । अशोकले वर्षौंदेखि सहँदै आएका छन् यी पीडाहरू । उपचार हुनसक्छ तर पैसा छैन । अशोकलाई उपचारका लागि अमरिका जानुपर्छ, त्यसका लागि तत्काल कम्तीमा २ करोड चाहिन्छ । बिहान-बेलुकी हातमुख जोड्न संघर्ष गर्नुपर्नेले सायद यो उपचार सपनामा मात्रै गर्न सक्छन् ।
को हुन् अशोक श्रेष्ठ ?
बारा जिल्लाको परवानिपुरमा ०१७ सालमा जन्मेका अशोक १ वर्षको हुँदा आँखामा खटिरा आयो । त्यो सुरुमा सानो थियो । बढ्दै-बढ्दै ठूलो हुन थाल्यो । पाटन अस्पतालमा विदेशी डाक्टरले उनको शल्यक्रिया गरे । रोगको पहिचानका लागि ट्युमरको टुक्रो बेलायतसमेत पठाइयो तर नेपालमा उपचार सम्भव देखिएन ।
अशोकका बुबा २०६३ सालमा बिते । बुवा बितेपछि उनलाई मानसिक तनाव भयो । उनी आफैँ बिरामी थिए । ट्युमर पनि बढ्दै गयो । शारीरिक रुपमा कमजोर हुँदैजाँदा घर-परिवारको जिम्मेवारीहरु सम्हाल्नुपर्ने भयो । बुबा सरकारी जागिरे भएकाले उनी हुँदासम्म अशोकको जीवन अलिक सहज थियो । तर बुवा बितेसँगै उनी बेसहारा बने ।
यदि यो पीडा पर्याप्त थिएन भने बुबा बितेको केही दिनभित्रै पक्षघातले थलिएकी आमा पनि बितिन् । त्यसपछि त घर-परिवार सम्हाल्ने कि आफूलाई सम्हाल्ने ? उनी ठूलो विपत्तिमा परे । कुनै रोजगारी गर्न वा विदेश जानका लागि स्वास्थ्य अवस्था ठीक थिएन । बिहे गर्नका लागि पनि कसले पत्याउने । उनी एक्लो भएर भौँतारिदै हिँड्न थाले । पैदलयात्रीले दया गरी दिएको दुई, चार रुपैयाँले पेट भर्न थाले ।
अशोक बाल्यकालमा निकै मेहनती थिए । उनले स्नातकसम्मको अध्ययन पनि गरेका छन् । धोबिघाटमा भाडाको सानो कोठामा एक्लै बस्छन् । उनलाई कम्प्युटरसम्बन्धी राम्रो ज्ञान छ । अखबारहरू पढ्छन् । आफूमा असामान्य केही पाउँदैनन् ।
तर, अरुका लागि उनी असामान्य छन् । उनलाई देख्नेहरु कुनै दुर्लभ जीव देखेजसरी मोबाइलमा तस्बिर कैद गर्न थाल्छन् । कसैले बोक्रे सहानुभूति देखाउँछन् । दुवै व्यवहार उनलाई रुचिकर लाग्दैनन् । त्यसैले महत्त्वपूर्ण काम नपरेसम्म अशोक सकरभर कोठाबाट बाहिरै निस्किँदैनन् ।
जागिर वा कुनै दैनिक आम्दानी नभएपछि खान, बस्न समस्या हुने नै भयो । त्यसैले अशोक सहयोगी मनहरुको दयामायाले बाँचिरहेका छन् । उनी सम्भव भएसम्म आफ्नो उपचार गर्न चाहन्छन् । त्यसका लगि कुनै संघ-संस्थाले पहल गरिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई । नत्र करोडौँ रकम कुनै ठट्टा होइन । उपचारका पर्याप्त सहयोग प्राप्त हुन नसकेमा उठेको सबै रकम अन्य बिरामीका लागि खर्च गर्ने उनको चाहना छ ।
उपचार सम्भव छ
अशोकको आँखाबाट सुरू भई अनुहारसम्मै ढाकेको मासुको डल्लालाई चिकित्सीय भाषामा ‘न्युरोफोबिमाटोसिस प्लेक्सिर्फम’ -एनएफ टाइप १) भनिन्छ । यो दुख्दैन । अमेरिकास्थित सेन्ट जोसेफ अस्पतालका डाक्टर म्याककिननका अनुसार अशोकको ट्युमरको उपचार अमेरिकामा सम्भव छ, तर यसका लागि २ करोड ५० लाख रुपैयाँसम्म चाहिन्छ । हुन त राम्रो पहल र सम्पर्क गर्न सके उनको उपचार निःशुल्क हुन सक्ने सम्भावना पनि छन्, तर अशोकले त्यो माध्यम अहिलेसम्म पहिल्याउन सकेका छैनन् ।
सामान्य सिटामोलको र जीवनजलको अभावमा झाडापखला र ज्वरोका बिरामी मर्नुपर्ने देशमा उनको यति महँगो उपचार कसले गरिदेला ? सामाजिक सञ्जालमा उनीबारे चर्चा हुन थालेपछि केही रकम जुटेको छ । ‘गो फन्ड मी’ मार्फत युकेमा रहेका दुर्गा गुरुङ, क्रिष्टिना र अमेरिकाबाट ‘मुखिया’ ले सहयोग गरेको अशोक बताउँछन् । उनी भन्छन्, ‘मैले भिडियो बनाएर सामाजिक सञ्जालमा राखेपछि धेरैको ध्यान तानियो । अहिलेसम्म करिब २२ लाख उठिसकेको छ । त्यसमा अझै २ करोड थप्नुपर्ने छ ।’
सहयोगका लागि
अशोकले आफ्नो उपचारार्थ रकम संकलनका लागि बैंक खाता नम्बर पनि सञ्चालनमा ल्याएका छन् । बैंक अफ काठमान्डुको बचत खाता नम्बर ०५११-०००-३६९६१ र ग्लोबल आईएमई बैंक डिल्लीबजारको बचत खाता नम्बर ३२०-७०१-०००-२२०८ मा जो कसैले इच्छाअनुसार सहयोग गर्न सक्छन् । अशोकसँग सीधा सम्पर्कका लागि उनको मोबाइल नम्बर ९८४१५३०७४१ रहेको छ । उनको इमेल हो, ashokshresha@gmail.com
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment