-हाङयुग अज्ञात
समीक्षक समाजको निम्तोमा हङकङ आएर कवि उपेन्द्र सुब्बाले आफ्ना ‘फन्नी’ र मन छुने कविता सुनाए । श्रोताले घरी दाँत देखाउँदै मनोरञ्जन लुटे, घरी मार्मिक कविताले मुटुको फेद छिनाउँदा व्याकुल बने । कतिजना त किलकिले देखिने गरी हिरिक्कै पनि भए । हाँस्न बिर्सिसकेको म यन्त्रमानव पनि थोरै त मुस्कुराएँ । उनलेे ‘मेट्रोपोलिस’ सहर हङकङका रमाइला किस्सा पोको पारिसकेका छन् । उता काठमाडौं महानगर व्यग्र छ, उपेन्द्र सुब्बाको मुखबाट हङकङलाई सुन्न ।
‘अनि कस्तो लाग्यो त हङकङ ?’ हत्तेरी डटकमका सम्पादक रविन बान्तवा खाहोङ राईले सोधे । ‘हउ यहाँ त भन्दिनँ हे हे, उता नेपाल फर्केपछि भन्छु कि, अनि मात्रै स्वाद आउँछ,’ उपेन्द्रजीले आफ्नो स्वभावअनुसार रिजर्भ बस्न रुचाए । उनको रिजर्भ बस्ने बानी नै खासमा उनको सफलताको रहस्य हो । उनी कसैलाई पिर्दैनन् । बरु सक्दो हसाउँछन् । छुचाचैं राजन मुकारुङ र म हो, वैरी धेरै कमाइयो । सोच्दछु, अब त बूढो भइयो, मलामी चाहिन्छ । उपेन्द्रजी जस्तै सोझो र सरल हुने प्रयत्न गर्दै छु त्यसैले । उनले मलाई कानमा सुटुक्कै भने, ‘हाउ अहिले मुक्तान थेबा भन्ने नयाँ कवि भाइ आएको छ, कवितामा आगो बाल्छु जस्तो गर्छ । मलाई त्यो भाइ उहिलेको राजनजी जस्तो लाग्छ हाहाहा…।’ राजन मुकारुङ साँच्चै नै खतरनाक कविता लेख्थे, सिर्जनशील अराजकताको आन्दोलनताका ।
उनको त्यो ऊर्जा र कविताप्रतिको विश्वासले गर्दा नै हामी यहाँसम्म आइपुगेको हो खासमा । तर राजनजी र म धेरै उच्कियौं, उपेन्द्रजी कहिले उच्किएनन् । कबड्डी कबड्डीको झाँक्रीको भूमिकाले सेलिब्रेटी बनायो, उनलाई । तर, उनी उही कवि उपेन्द्र, ‘हवस् सर, हउ र हे हे’सित नै छन् । रसिक मान्छे उपेन्द्रजी फेरिएका छैनन् । फेरिएको चैं उनको विचार रहेछ । उनलाई मंकहरूले लगाउने रङ मन पर्न थालेको छ । दर्शनशास्त्रका पुस्तकहरू अहिले पढ्न छोडिसकेका छन् । कहीँ दूर एकान्तमा जान मन लाग्छ, हिजोआज उनलाई । विकास त विनाश पनि रहेछ, ऊनी भन्छन्, ‘त्यही भएर विकासदेखि वाक्क लाग्न थालेको छ ।’
‘मलाई भेँडेटारको पिकनिकचैं नाट्यकर्मी शशि सुब्बादिदीले कहीँ पनि वाचन नगर्नुभन्नुभएको छ । तर तपाईंहरूको अनुरोधमा सुटुक्कै गरिहाल्छु ल । हाँस्दै कविता वाचन गरे-
जाउँ
माथि चाल्र्स टावरको माथिल्लो छतमा बसेर
तल मधेसका नीला फाँटहरू हेर्नु
माथि लहरै जोल्ठेर बसेका पहाड र हिमालहरू हेर्नु
अल्छी लाग्यो भने
तरुनीको फिला सिरानी लाएर
माथि आकाशको लाज हेर्नु
र, खुसुक्क तरुनीको कानमा भन्नु
हेर त, आकाशले कट्टु नलाएको !
त्यतिबेलाको धरान गज्जबको थियो । तेसो त अहिले झनै गजब भएको होला । धरानका युवा कवि गोविन्द विकललाई लिएर भेंडेटारमा पिकपिन खानु जान्थे । त्यसैबेला उपेन्द्रले भेंडेटारको कविता लेखेका रहेछन् । कवि देवान किरातीले पनि भेंडेटारबारे कविता लेखेका थिए, त्यसैबेला । देवानको कविताको शीर्षक थियो, ‘भेंडेटारको मौसम ।’
अहिले धरानमा जनकऋषि राई मात्रै छन्, बुढो पेन्सनवाल लाहुरेजस्तो छाता चोकमै बसिरहेछन् । जस बेखर्ची अमेरिका लागे । देवराली चाम्लिङ, अनुशील, प्रतिमा विवश र सुमित्रा प्रवृत्ति काठमाडौं होलान् । विमला शालीन बेलायततिर होलिन् । राजकुमार दिकपाल पनि भर्खरै बेल्जियम पुगेछ्न् ।
म धरान आउँदा देवान किरातीको पसल खोटाङ कम्युनिकेसन सेन्टरमा गफिन्थ्यौं । त्यतिबेला हाम्रो आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । उपेन्द्र सुब्बा काठमाडौंबाट फर्किएर धरानै बस्थे । धराने कालो बंगुरको मासु एक थाल, भोड्का हाफ र दुई ढेँडी अकबरे खुर्सानीले स्वागत सत्कार गरेका थिए उनले मलाई । त्यो स्वाद कहिले बिर्सनु सकिनँ । अकबरे खुर्सानीको हरहर आउने बास्ना र ठ्यास्स आउने आवाज स्मृतिमा ताजै छ । धरान बसोबासकै क्रममा वरिष्ठ कवि तथा पत्रकार गोविन्द विकललाई उपेन्द्रजीले हाम्रो आन्दोलनबारे कन्भिन्स गराए ।
‘राजनजी पनि ३५ लाखको घर बनाएर भोजपुरमै बस्नु थाल्नुभयो । हाङयुगजी पनि हङकङ बसेको लामो भयो । अहिले म मात्रै छु काठमाडौंमा । हिजोआज त मलाई मात्रै खोज्छन् मिडियाले पनि । न म बोल्न जान्दछु । कति शब्दहरू त उच्चारण गर्नै जान्दिनँ । भाग्दाभाग्दा भाग्नै नसकेर पोहोर सालचैं दुई-तीनवटा अन्तर्वार्ताहरू दिएँ,’ यसो भन्दै उनले सुनाए-
वर-पिपल रोप्दैमा कुनै धर्म हुँदैन
शिलामा नाम खोप्दैमा कोही अमर हुँदैन
ए, कवि !
कविता लेख्नुको तिम्रो उद्देश्य के ?
मभित्रको एउटा मान्छेले मलाई सधैं सोधिरहन्छ ।
करिब दश वर्षपछि उपेन्द्र सुब्बासँग मेरो भेट भयो । म काठमाडौं जाँदा उनी धरानतिर बस्न थालेका थिए । यसरी पनि यति लामो ग्याप भयो । ‘तपाईं नेपाल आएको कसैलाई थाहा हुँदैन । एकजना मान्छेलाई मात्रै थाहा हुन्छ । त्यो हो श्रवण मुकारुङ, हेहेहे…।’
उनलेे ठाउँको ठाउँ बजाए । हुन त उपेन्द्र सुब्बालाई धेरैअगाडि हङकङमा बोलाउने प्रयत्न गरेकै हो । एभरेस्ट पब्लिकेसन्सका सम्पादक किसन राईसँग सरसल्लाह भएकै हो । पहिलोचोटि किसनले भने पासपोर्ट नै रिन्यु गरेको छैन रहेछ कविले । दोस्रोचोटि भने कबड्डी सुटिङ गर्न मुस्ताङ पुगेका रहेछन् भेटै भएन । तेस्रोचोटि भने आमा बित्नुभएछ र गाउँ लागेछन् । चौथोचोटि भने पुरानो डुंगाको सुटिङ गर्न पोखरा गएको रहेछ । अस्ति भर्खरै फेरि किसनजीले फोन गरेर भने, ‘आउँदो मेमा उपेन्द्र सुब्बालाई बोलाउँछु है ।’
उनले यसो भन्दा उपेन्द्रजीलाई समीक्षक समाजले बोलाउने टुंगो लागिसकेको थियो । बालकवि कोही गुरुङका पिताजी मेख गुरुङजीले हङकङ इमिग्रेसनबाट भिसा झिकिसकेका थिए । अन्ततः लामो समयपश्चात् बल्ल जुर्यो साइत र सबैका प्रियकवि उपेन्द्र सुब्बा केही थान पुराना ‘ओल्ड इज गोल्ड’ कविता बोकेर आइपुगे ।
०४६ सालको राजनैतिक व्यवस्था परिवर्तनपश्चात् नेपाली साहित्यमा जनताका कुरा लेखिनेछन् भन्ने अपेक्षा गरेको थिएँ मैले । तर त्यस्तो केही भएन । ५२ सालमामाओवादी जंगल पसे । उता पूर्वतिर खम्बुवान मुक्ति मोर्चा पनि जंगल छिरे । जनमुक्ति मोर्चा पनि उफ्रिँदै थियो ।
यस्तै परिस्थितिमा राजधानीमा राजन मुकारुङ र उपेन्द्र सुब्बासित भेट भो र पुरातनवादी नेपाली साहित्यलाई हमला गरेर नयाँ नेपाली साहित्यको सत्ता स्थापना गर्न ‘सिर्जनशील अराजकता’ नामको साहित्यिक आन्दोलन गर्ने भयौं । अहिले हाम्रो आन्दोलन एक सफल आन्दोलन प्रमाणित भइसकेको छ । अब यो आन्दोलन ‘सेतो ख्याक’ जस्तो भइसकेको छ ।
हङकङ आइपुगेको भोलिपल्ट मैले उपेन्द्र सुब्बालाई पर्यटकीय स्थल भिक्टोरिया पिक लगें । उकालोमा बसमा हिँड्दै गर्दा भनेँ मैले, ‘यो भिक्टोरिया पिकमा उहिले बेलायती उच्च अधिकारीहरू मात्रै बस्थे । गाडी हिँड्ने बाटो थिएन, चिनियाँहरूले काँधमा बोकेर लैजान्थे गोराहरूलाई ।’ उपेन्द्रजीले फकाउनु भो, ‘र्फकनुस् नेपालमा जीवन बाँच्नु । अब देखिहाल्नु भो विकास । आफ्नै गाउँघर प्यारो हुन्छ हउ । तपाईंको आमा सारै बिरामी हुनुहुन्छ । त्यो प्रकाश पनि अस्पताल धाउँदा-धाउँदा थलिइसकेको छ । दुईचोटि भेट्न गएँ म तपाईंकी आमालाई । अन्तिम अवस्थामा हुनुहुन्छ ।’ उपेन्द्रजीले यसो भन्दा म भित्रभित्रै भत्किसकेको थिएँ ।
मलाई यति धेरै माया गर्ने मेरो पुरानो साथीले यसो भनेपछि मैले पनि साथीलाई केही दिनुपर्छ जस्तो लाग्यो र गीतकार छेवाङ लामालाई साक्षी राख्दै भनें, ‘आजदेखि यो भिक्टोरिया पिकको नाम तपाईंको सम्मानमा झाँक्री डाँडा राखिदिन्छु ।’ हे हे गरेर हाँस्ने कबड्डी कबड्डीका झाँक्री गटटट हाँसे । सधैंसधैं हङकङको भिक्टोरिया पिकमा उपेन्द्र सुब्बा बाँचिरहनेछ्न् झाँक्री डाँडा भएर । उता चाल्र्स टावर र ह्यारी हिलस यता झाँक्री डाँडा, हगि !
‘मेरो आमाको नाम के होला ?
मेरो नागरिकता, सटिर्र््िmकेट, अन्य पुर्जाहरूमा
कहीँकतै उल्लेख छैन
अब म
मेरो आमालाई के नाम दिऊँ ?
के उपमा दिऊँ ?’
उपेन्द्रजीले यो कविता वाचन गर्दा आफ्नो आमाको नाम मैले पनि खुबै सम्झें । के होला मेरो आमाको नाम ? आमा मात्रै भन्दै आएको छु सानैदेखि । कहीँकतै छैन आमाको नाम ।
हङकङ ओर्लेर म्यासेज गरेका थिए उपेन्द्रजीले, ‘हउ सर कता हुनुहुन्छ ?’ मैले जवाफ दिएको थिएँ, ‘डाक्टरकोमा छु ।’ उनी जोडले हाँसे म्यासेज बक्स चर्किने गरी । झाँक्री हाँसेका रहेछन् । खासमा म डाक्टरकै क्लिनिकमा इन्जेक्सन हान्नु गएको थिएँ, जीवनमा धेरै जुत्ता लाएर होला खुट्टामा एलर्जी भएको छ, बहुत चिलाउँछ ।’
‘अब फिलिममा हिरोको रोलमा खेल्नुस् उपेन्द्रजी, दयाहाङ टाइपको हिरोको जमाना रहेछ,’ मैले भनें । उनले भने, ‘पुरानो डुंगामा पि्रयंका कार्कीको बूढा भएर खेल्नुपर्ने साइड हिरोको रोल दिएका थिए साथीहरूले । म ५ दिन भागें । फिलिममा अभिनय मेरो रुचि होइन । सुरुको कबड्डीमा झाँक्रीको रोल गर्न एकजना साथीलाई दिएको त, त्यो साथी साँच्चिकै काम्न थाल्यो, त्यत्तिकै मैले रेला गर्दै थिएँ, उता क्यामेरा त अनमै राखेका रहेछन् । ल भयो भन्छन् साथीहरू । त्यसरी झाँक्रीको रोल गरेको हो ।’
कृष्ण धरावासीले अमेरिकाबाट सोधे, ‘उपेन्द्रले किन काटेछन् जट्टा ?’ मैले अन्दाजी गफ दिएँ, ‘स्याम्पुमा महिनाको ५ हजार खर्च भो रे ।’ उपेन्द्रजीका कविताका फ्यानहरू त धेरै नै हुन् । ती फ्यानभन्दा धेरै त जट्टाका फ्यान रहेछन् । तर मलाई मनपर्ने उपेन्द्र सुब्बाका गम्भीर कविता र कथाहरू नै हुन् । डर लाग्छ, कतै ऊनी ‘तोक्मे बूढा’ जस्तो हास्य कलाकार पो भइपठाउँछन् कि ?
‘तब,
छिप्पिएर अघिको विचार
निगार भएर तप्पतप्प झरोस्
बज्राँठको अगुल्टोमा झ्वाइँझ्वाइँ बुद्धिको आहुति !
र बौलाओस् जिन्दगी
गरोस् विद्रोह
कहिलेकाहीँ यस्तो जङ चल्दछ ।’ उपेन्द्र सुब्बा ।
तर चाल्र्स टावरदेखि झाँक्री डाँडासम्मको उपेन्द्र सुब्बाको यात्रा समीक्षक समाजका संयोजक हेम लावतीले भनेझैं सरल छ, निख्खर छ । उपेन्द्रजी भन्थे, ‘दुःखसँग मजाले बाँच्ने हो नि जीवन, के छ र अरु त । आफूपछि कविता लेख्ने अरु आएनन् भने एक्लिँदै गइने रहेछौं ।’ उपेन्द्र सुब्बाले कवि मनु कन्दङ्वालाई आशीर्वाद दिन पनि भ्याए । अब उपेन्द्रजीको यात्रा अस्ट्रेलियातिर तेर्सिएको छ, शुभकामना छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment