Tuesday, March 15, 2016

सपना मल्ललाई न्यायाधीश सिफारिस गरेकोमा देउवाको आपत्ति  

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको न्यायाधीशमा सपना मल्ल प्रधानको नाम सिफारिस गरिएकामा आपत्ति जनाएका छन् ।

मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा नेपाल प्रेस युनियनको टोलीसँगको भेटमा कांग्रेस सभापति देउवाले पार्टीप्रति वफादार व्यक्तिलाई न्यायाधीश नियुक्त गरेर निष्पक्ष न्यायको कल्पना गर्न नसकिने उनले बताए ।

न्यायपरिषद्ले फागुन १९ गते सर्वोच्च अदालतमा एमालेबाट सांसद् भइसकेकी प्रधानसहित ११ जनालाई न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

देउवाले सपना मल्ल प्रधानको योग्यतामा प्रश्न नभएको बताए । उनले भने, ‘धेरै योग्य मान्छे हुन् सपना मल्ल । उहाँको योग्यतामा कुनै कमी छैन । सम्मान पनि गर्छु । तर, पार्टीको माननीय भइसक्नु भो । भोलि सबै सांसदले चाहियो भन्छन् ।’

निश्पक्ष न्यायमा गाह्रो पर्ने भन्दै उनले अघि भने, ‘सांसद नै न्यायाधीश हुने हो भने भोलि के होला ? एमपी हुन्छ भने मन्त्री किन नहुने भन्लान भोलि ।’

कांग्रेस सभापति देउवाले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताए । प्रमुख दल मिलेर सरकार बनाउँदा तानाशाही प्रवृत्ति बढ्ने भन्दै उनले सरकारलाई साइजमा राख्नका लागि बलियो प्रतिपक्ष अनिवार्य हुने र कांग्रेसले प्रतिपक्षको भूमिका निभाउने पक्षमा रहेको बताए ।

उनले पार्टीको निर्वाचन समितिले प्रमाणपत्र दिएलगत्तै अन्य नेताहरुसँग सल्लाह गरेर रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई केन्द्रीय सदस्य मनोनित गर्ने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment