पुष्प दुलाल
२ चैत, काठमाडौं । एमाओवादी सांसद ल्यारक्याल लामाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको लकरमा १४ थान गोली राखेको भेटिएपछि अहिले यो विषय ‘हट केक’ बनेको छ । बैंकको लकरमा त्यसरी गोली लुकाउन सकिन्छ भने बम वा हिरोइनलगायतका अवैध सामाग्रीहरु राख्न सकिन्छ कि सकिँदैन ?
आइतबार अख्तियार दुरुपयोय अनुसन्धान आयोगको टोलीले अनुसन्धानका लागि लामाको बैंक लकर खोल्दा गोली भेटिएपछि यो विषय बहसमा आएको हो ।
लामाले कसरी बैंकको लकरसम्म गोली पुर्याए ? के बैंकको लकरमा कानूनले बर्जित गरेका कुराहरु राख्न मिल्छ ? लकरमा गोली राख्दा बैंकका कर्मचारीलाई थाहा हुन्छ कि हुँदैन ? के नेपालका बैंकहरुमा अपराधीहरुले बमसमेत राख्ने सुविधा पाउँछन् ? ल्हारक्याल प्रकरणपछि यी लगायतका विविध प्रश्न उब्जिएका छन्
कसरी खोलिन्छ लकर ?
दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकका सहायक महाप्रवन्धक राजनकुमार शाक्यका अनुसार बैंकहरुले आफ्ना खातावालहरुलाई लकरको सेवा उपलब्ध गराउँछन् । बैंकले तोकेका सबै शर्त पूरा भएपछि मात्रै बैंकले ग्राहकलाई लकरको साँचो दिन्छ ।
ग्राहकले साँचो हराउन सक्छ भनेर बैंकले धरौटी पनि लिएको हुन्छ । लकर भाडामा लिएपछि त्यसको एउटा चाबी ग्राहकले र मुख्य चाबी बैंकले आफैं राख्छ ।
लकरको चाबी पाएपछि ग्राहकले केही राख्नुपरे आफ्नो सामान लिएर बैंकमा जान्छ । ग्राहकसँगै बैंकका कर्मचारी पनि लकर भएका ठाउँमा जान्छन् । लकरभित्र छिर्नुअघि बैंकको सुरक्षा गार्डले मेटल डिरेक्टरमार्फत चेकजाँच गर्छन् ।
चेकजाँचमा कुनै पनि कैफियत नदेखिएपछि मात्रै ग्राहकलाई लकर भएको ठाउँमा पठाइन्छ ।
त्यसपछि बैंकका कर्मचारीले ग्राहकको लकर देखाइदिन्छन् । ग्राहकले लकरभित्र आफ्नो सामान राख्छन् अनि चाबी लगाइन्छ । एउटा चाबी ग्राहकसँग र अर्को चाबी बैंकसँग हुन्छ । तर, ग्राहकले लकरभित्र के र कति मूल्यका सामान राखे भनेर बैंकले हेर्न मिल्दैन ।
बैंकसँग भएको चाबीले मात्रै पनि लकर खोल्न सकिँदैन । लकर खोल्न ग्राहक र बैंक दुबैसँग भएको चाबी एकैसाथ हाल्नुपर्छ ।
गोली राख्न पाइन्छ त ?
लकर सेवा लिने फारम भर्दा नै ग्राहकले कानूनले बञ्चित गरेका वस्तुहरु जस्तै (गोली-गठ्ठा, हातहतियार, बम-बारुद र लागू औषधलगायत) नभएको भनी हस्ताक्षर गर्नुपर्छ । ल्यारक्यालले हातहतियार तथा गोली गठ्ठा नभएको भनी हस्ताक्षर गरेर नै लकर भाडामा लिएका थिए । यदि त्यस्ता बस्तु भएको आशंका लागेमा बैंकले ग्राहकलाई बोलाएर लकर खोलेर हेर्न सक्ने भनी बैंक र लकर सेवा लिने सेवाग्राहीबीच सम्झौता भएको हुन्छ ।
संसारभर बैंक लकरमा गोप्यरुपमा आफ्नो सम्पत्ति सुरक्षितरुपमा लुकाएर राख्ने चलन छ । खासगरी लकरमा सुनचाँदी, हिरामोती, नगद पैसा तथा अन्य बहुमुल्य वस्तु राख्ने गरिन्छ । ग्राहकको सामानको सुरक्षा गरेबापत बैंकले निश्चित शुल्क लिन्छ । बैंकको लकर आगो र गोली प्रुफ हुने भएकाले सुरक्षित मानिन्छ । त्यस्तै, ठूलो भूकम्प गएर भवनलाई क्षति पुर्याए पनि लकर फुट्दैन ।
‘लकरभित्र के छ भनेर बैंकले हेर्न मिल्दैन, बैंकले त ग्राहकको विस्तृत विवरण लिएर लकर भाडामा दिन्छ, संसारभरको अभ्यास पनि यस्तै छ,’ बैंकका सहायक महाप्रबन्धक शाक्यले अनलाइनखबरसँग भने- ‘बैंकको काम भनेको सुरक्षा दिने हो, लकरमा कुन ग्राहकले के राख्यो भनेर हेर्ने अधिकार बैंकसँग हुँदैन ।’
राष्ट्र बैंकले लकरमा के छ भनेर बैंकका कर्मचारीले हेर्न मिल्ने व्यवस्था गरेमात्रै बैंकहरुले लकरमा राखिएको बस्तु हेर्न सक्ने उनले बताए ।
देशभर गरी बैंकसँग करिब ८ हजार लकर रहेको र दरबारमार्गस्थित मुख्य कार्यालयमा मात्रै ५ सयभन्दा बढी लकर छन् । दरबारमार्गमा मात्रै लकर सेवा लिन दैनिक ३/४ सय ग्राहक आउने शाक्यले सुनाए ।
‘हैसियत भएकाहरुले झोलाका झोला सुन-चाँदी, हिरा, अन्य बहुमुल्य वस्तु र नगद राख्ने गर्छन्’ उनले भने- ‘ल्यारक्याल घटनाले हामीलाई यस्तो पनि हुँदो रहेछ भन्ने महसुस गराएको छ ।’
स्क्यानर मेसिन नै छैन
नेपालका बैंकहरुसँग लकरभत्रि अवैध बस्तु छ कि छैन भनेर चेकजाँच गर्ने ‘स्क्यानिङ मेसिन’ नै नभएको इन्भेष्टमेन्ट बैंकका सहायक महाप्रबन्धक शाक्यले बताए । ‘बैंकहरुले ‘मेटल डिरेक्टर’ले मात्रै चेकजाँच गर्छन्, जसले भित्र के छ भनेर सहजै पत्ता लगाउन सक्दैन,’ उनले भने ।
मेटर डिरेक्टरले सुन, चाँदी वा अन्य सामाग्रीहरु हुँदा पनि कराउने गर्छ । बैंकका कर्मचारी र सुरक्षा गार्डलाई शंका लागेमा सोधखोज गर्न सक्छन् । तर, इन्भेटमेन्ट बैंकमा ल्यारक्याललाई यस्तो सोधखोज गरेको पाइँदैन ।
बैंकको लापरवाही वा कर्मचारीको मिलेमतो हुनसक्छः राष्ट्र बैंक
बैंकको लापरबाही र कर्मचारीको मिलेमतोका कारण लामाले लकरभित्र गोली पुर्याउन सफल भएको हुनसक्ने नियामक नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले अनलाइनखबरलाई बताए ।
लकरभित्र के छ भनेर हेर्ने अधिकार बैंकलाई नभए पनि अवैध वस्तु राख्न दिन नहुने उनले बताए ।
‘सामान लैजानुभन्दा अघि सेक्यूरेटी गार्डले स्क्यानिङ गर्छ । त्यसबेला बज्छ, बजेपछि देखाउनुपर्छ’ पंगेनीले भने-‘इन्भेस्टमेन्ट बैंकको लापरवाहीका कारण लकरभित्र गोली पुग्न सफल भएको देखिन्छ ।’
ल्यारक्याल प्रकरणले लकरमा के राखिएको छ भनेर ग्राहकले कसैलाई पनि जानकारी दिनु नपर्ने प्रावधानको धज्जी उडेको पंगेनीले बताए ।
‘भोलि बैंकिङ सिस्टममै यस्ता अवैधानिक कुराहरु राख्न खोजे भने गोपनीयता को नियम लागू नहुन सक्छ । यसबारे राष्ट्र बैंकले आवश्यक नीगित व्यवस्था गर्न सक्छ ।’ उनले भने ।
बैंकका कर्मचारीहरुकै मिलेमतोमा धेरै वित्तीय अपराधका घटनाहरु हुने गरेकाले गोली हो भन्ने थाहा पाउँदा-पाउँदै पनि बैंकले ल्यारक्यालको लकर स्वीकार गरेको हुनसक्ने उनको भनाइ छ ।
‘अख्तियार र प्रहरीले हेरिरहेको हुनाले यो मुद्दामा अहिले राष्ट्र बैंकले हात हाल्न मिल्दैन,’ पंगेनीले भने- ‘तर, यो घटनाले हामीलाई निकै गम्भीर बनाएको छ र बैंकहरुलाई चुनौति दिएको छ ।’
अख्तियारको निर्देशनमा केही समयअघि राष्ट्र बैंकले बैंकहरुलाई ३० जनाको बैंक लकर रोक्का गर्न निर्देशन दिएको थियो । जसमा ल्यारक्यालको नाम थियो ।
६ वर्ष भयो ल्यारक्यालको लकर
ल्यारक्यालले ६ वर्षअघि दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकर भाडामा लिएको बैंकका सहायक महाप्रवन्धक शाक्यले अनलाइनखबरलाई जानकारी दिए । लकर भाडामा लिएबापत लामाले बैंकलाई मासिक ३५ सय रुपैयाँ तिर्दै आएका थिए ।
लकर खोल्न आउँदा ग्राहकले हाजिर गर्नुपर्छ, जसअनुसार ६ वर्षको अवधिमा लामा ८/१० पटकमात्रै लकर खोल्न आएको शाक्यले बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment