Thursday, April 14, 2016

निलम्बित सांसद सञ्जय साह भन्छन्- कि न्याय देऊ, नभए मृत्यु

२०६६ साल वैशाख १८ गते ५ जनाको ज्यान जाने गरी जनकपुरमा भएको बिस्फोटका मुख्य योजनाकार मानिएका धनुषा क्षेत्र नम्बर ४ का निलम्बित सांसद तथा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह अहिले कारागारमा छन् । उनीमाथि सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याको आरोप पनि लागेको छ । त्यसपछि निकै विक्षिप्त बनेका साह अहिले जनकपुर कारागारभित्रै आमरण अनसन बसिरहेका छन् । उनै अर्थात् सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सञ्जय साहलाई भेट्न जेलमै पुगेका सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोसँग उनले के भने त ? महतोकै कै शब्दमा-

गत चैत २९ गते जनकपुरमा धनुषा क्षेत्र नम्बर ४ का निलम्बित सांसद तथा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साहसँग भेटघाट गरी उहाँमाथि चलिरहेको मुद्दाबारे हालको अवस्था जान्ने प्रयास मैले गरें ।

सञ्जय साह हिरासतमा रहेको अवस्थामा यो मेरो दोस्रो भेटघाट थियो । पहिलो भेट सिरहा कारागारमा भएको थियो । चैत २९ गते जनकपुर जिल्ला प्रहरी कार्यालयमा भेट्दा उहाँको शारीरिक अवस्था पहिलो भेटभन्दा ज्यादै कमजोर पाएँ । वहाँ करिब एक हप्तादेखि ‘न्याय देउ, की त मृत्यु’ भन्दै आमरण अनसनमा बसिरहेको अवस्था छ । फलामको ग्रिलबीच भएको हाम्रो भेटमा करिब हप्तौंदेखिको आमरण अनसनका कारण उहाँको शारिरीक कमजोरीले गर्दा उभिएर कुरा गर्न असमर्थ भएपछि भुईंमै बसेर कुराकानी गरियो ।

सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा संलग्न भई फरार रहेर शसस्त्र गतिविधी गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप गएको चैत १७ गते पक्राउ परेपछि उनको बयानलाई कथित आधारमा सञ्जय साहलाई सिंघानिया हत्याको मुख्य योजनाकार भन्दै अहिले हत्याकाण्डको अनुसन्धान र अदालती प्रक्रियाको निम्ति काठमाडौं कारागारबाट ल्याएर जनकपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको अवस्था छ ।

कुराकानीका क्रममा सिंघानिया हत्याको अनुसन्धान र बयानका क्रममा सञ्चारमाध्यममा आएको समाचारभन्दा सत्यतथ्य भिन्न पाएँ । उहाँले सिंघानिया हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको र दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनुभयो । उहाँलाई जनकपुर ल्याउने बित्तिकै प्रहरी समक्ष पत्रकार एवम् मानव अधिकारकर्मीको रोहबरमा सत्यतथ्य पत्ता लगाउन आफुलाई पोलिग्राफ टेष्ट गर्न माग गरेको तर सञ्चारमाध्यममा आफूले पोलिग्राफ गर्न नमानेको भनेर प्रहरी कार्यालयबाट गलत प्रचार गरिएको बताउनुभयो ।

अझ अचम्मको कुरा त के छ भने सञ्चारमाध्यममा पोलिग्राफ गर्न नमानेको भनेर प्रहरी कार्यालयको हवाला दिएर समाचार आईरहँदा उहाँले एक पत्रकारको रोहबरमा आफ्नो पोलिग्राफ टेस्ट भइसकेको बताउनुभयो । तर हालै मात्र अदालतमा पेस गरेको मिसिलमा पोलिग्राफको रिपोर्ट सामेल गर्नुको त कुरै छाडौं पोलिग्राफ टेस्टको कुनै चर्चा पनि नगरेको उहाँले बताउनुभयो । पोलिग्राफ टेस्ट गर्नु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले सरकारको मनसायमाथि नै प्रश्न चिन्ह लागेको छ । पोलिग्राफ टेस्ट गरिनु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले आफू निर्दोष रहेको तर जिल्ला प्रहरी कार्यालय कसैको स्पष्ट निर्देशनमा दोषीलाई उन्मुक्ति दिन आफूलाई फसाउन खोजेको बताउनुभयो ।

सञ्जय साहले भन्नुभयो- ‘२०६६ साल फागुन १७ गते होली पर्वका दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको जनकपुर शिवचोकमा अज्ञात हतियारधारीले गोली प्रहार गरी हत्या गरेका थिए तर त्यस घटनाको दुई वर्ष पूर्व जनकपुर टुडे पत्रिकामा आफूलाई बदनाम गराउने समाचार प्रकाशन गरेको निहुँमा आफूले पत्रिकाका प्रकाशक सञ्चार उद्यमी सिंघानियालाई नै हत्या गराएको प्रहरीले आरोप लगाउनु निराधार हो र दोषीलाई उन्मुक्ति दिन आफूलाई फसाउन खोजिएको हो ।’

अहिले टेक्नोलोजीको युगमा विभिन्न प्रयोगबाट कसैले बोलेको कुरा साँचो या झुटो पत्ता लगाउन सकिन्छ । आफू ब्रेन मैपिंगदेखी लिएर नार्को टेस्ट या अरू कुनै पनि टेस्ट गराउन तयार रहेको उहाँको भनाइ थियो ।

उहाँले सरकारलाई यस घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र एवम् निष्पक्ष छानविन आयोग गठन गर्न पनि माग गर्नुभयो र आफू आमरण अनसनमा बस्नुको मुख्य माग नै स्वतन्त्र एवम् निस्पक्ष छानविन आयोग गठन गराउनु भएको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा मानव अधिकारकर्मीलाई पनि आफूलाई न्याय दिलाई दिन अपिल गर्नुभयो ।

सञ्जय साह धनुषा क्षेत्र ४ का निर्वाचित सांसद सांसद हुनुहुन्छ । अहिले उहाँका समर्थकले साह निर्दोष भए पनि फसाउन खोजेको भन्दै जनकपुरमा दिनहुँजसो प्रदर्शन भइरहेको छ । यहाँको आमजनमानसमा पनि सञ्जय साहको राजनीतिक हत्या गर्न वहाँका विरोधीले सरकारी संयन्त्रको दुरूपयोग गरिरहेको बताइरहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment