Thursday, April 14, 2016

हकिङको नयाँ अन्तरिक्ष अभियान

वैशाख ३, २०७३- प्रख्यात बेलायती अन्तरिक्ष वैज्ञानिक स्टेफन हकिङको नयाँ अन्तरिक्ष अभियानमा रूसी अर्बपति युरी मिल्नर र फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि जोडिएका छन् ।

मंगलबार घोषित सहकार्यको योजना अन्तरतारकीय (इन्टरस्टेलर) अन्तरिक्ष यानहरू निर्माण गर्नु हो, जसमा १० करोड अमेरिकी डलर खर्च हुनेछ ।

न्युयोर्कस्थित ‘वान वल्र्ड अब्जरभेटरी’ मा आयोजित समारोहमा हकिङ र मिल्नरले उक्त घोषणा गरेका हुन् । ‘ब्रेकथ्रु स्टारसट’ नाम दिइएको परियोजना अनुसन्धान र इन्जिनियरिङमा केन्द्रित हुनेछ । लेजरबिम प्रेरित प्रविधिका नयाँ ‘नानोक्राफ्ट्स’ मार्फत् २० प्रतिशत लाइटस्पिडमा यात्रा गर्न सकिने अनुमान छ ।

जुन, हाल चलनचल्तीमा रहेका अन्तरिक्ष यानको तुलनामा हजार गुणा तीव्र गति हो । मिल्नरका अनुसार एउटा नानोक्राफ्ट्सबाट ‘अल्फा सेन्चुरी’सम्म पुग्न सकिने विषयमा अध्ययन भइरहेको छ, उक्त तारामण्डल पृथ्वीबाट चार दशमलव ३७ प्रकाशवर्ष टाढा छ ।

करिब २० वर्षको उडानमा त्यहाँसम्म पुग्ने लक्ष्य नयाँ अभियानको छ । हालका अन्तरिक्षयानमार्फत् त्यहाँ पुग्न ३० हजार वर्ष लाग्छ ।

नानोक्राफ्टस ‘ग्राम–स्केल रोबोटिक’ अन्तरिक्ष यान हो, जसमा कम्प्युटरको सीपीयू आकारको ‘स्टारचिप’ र एउटा हलुका पखेटा हुनेछन् । उक्त पखेटा ‘मेटाम्याटेरियल्स’ बाट निर्माण हुनेछ, जुन एक सयवटा परमाणुभन्दा बाक्लो हुने छैन ।

केही ग्राम मात्र तौलको स्टारचिप अन्तरिक्ष खोजीका लागि उपयोगी हुने विश्वास हकिङको छ । त्यसमा क्यामेरा, नेभिगेसन र सञ्चार प्रणाली जडान हुनेछ । ‘आइफोनकै मूल्यमा स्टारचिप उत्पादन गर्न सकिनेछ,’ मिल्नरले भने ।

पत्रकार सम्मेलनमा उपस्थित भौतिकशास्त्री तथा टोलीका सदस्य अभी लोएबका अनुसार नानोक्राफ्ट्स शक्तिशाली लेजरबिम प्रविधिको सहायताले अन्तरिक्षमा विचरण गर्न सक्नेछ । जुन, एक सय गिगावाट क्षमताको हुने उनले बताए ।

लेजरको बढ्दो क्षमता र घट्दो मूल्यका कारण दुई वर्षभित्रमै सबै प्रक्रियालाई व्यवहारमा उतार्न सकिने विश्वासमा मिल्नर र वैज्ञानिकहरू छन् । ‘१५ वर्षअघि यसका लागि लगानी गर्ने कुराको सोच पनि थिएन, अहिले हामी तयार भएका छौं र गरेर देखाउँछौं,’ मिल्नरले भने ।

उक्त परियोजनाको ब्रेकथ्रुका रूपमा हकिङ र मिल्नर मिलेर जुलाई २०१५ मा एलियनको खोजी अभियान थालेका थिए । एक सयवटा तारामण्डलको स्क्यान गरेर एलियनको आवाज पहिचान गर्ने उक्त अभियान जारी नै छ । स्टारसटस त्यसको नयाँ अध्याय हो ।

मानवको वंशाणुगत विवेक नै यस परियोजनाको नैतिक शक्ति रहेको हकिङको विश्वास छ । उनको स्वर संश्लेषकमा कुनै हँसिमजाक सुनिँदैन, बरु विनोदी स्वभाव सहजै झल्किन्छ ।

उनको अभियान अल्फा सेन्चुरीको गन्तव्य चुम्ने कुरामा मात्र सीमित देखिंदैन, त्यसका लागि गरिने प्रयासबाट अझ धेरै ज्ञान हासिल गर्ने सोच झल्किन्छ ।

मंगलबार रूसी अन्तरिक्षयात्री युरी गागारिनले पहिलो अन्तरिक्षयात्रा गरेको ५५ औं वर्षगाँठ पनि हो । ‘आजको दिन हामी ब्रह्माण्डमा अर्को छलाङ मार्ने प्रण गर्छौं, किनभने हामी मानव हौं र हाम्रो स्वभाव उडान भर्ने हो,’ वैज्ञानिक हकिङले भने ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment