Friday, April 8, 2016

अमृत जति नेताले खाए, जनतालाई विष बाडिँदैछः कृष्ण पहाडी

२६ चैत, काठमाडौं । पञ्चायती व्यवस्थाको अन्त्य भई ०४६ साल चैत २६ गते, अर्थात आजकै दिन बहुदलीय व्यवस्था स्थापना हुँदा कष्ण पहाडी भर्खर २७ वर्ष लागेका थिए । बहुदल आएको आज २६ वर्ष पूरा भइसकेको छ । यस अवधिमा मानवअधिकारकर्मी पहाडीको कपाल फुलिसकेको छ ।

दोस्रो जनआन्दोलनपछि गणतन्त्र स्थापना भयो । जनआन्दोलन सफल भएको ९ वर्ष पूरा भएर १० औं वर्ष हुन आँटिसक्यो । तर, राजनीतिक दलहरु सुधि्रनुको साटो उस्तै भ्रष्ट र गैरजिम्मेवार देखिएका छन् ।

यो अवधिमा नागरिक आन्दोलन पनि छिन्नभिन्न भएको छ । राजनीतिक नेतृत्वप्रति जनतामा पुनः वितृष्णा बढेको छ । देश झनै परनिर्भर र अराजकतातर्फ उन्मूख हुँदैछ । विखण्डनका स्वरहरु मौलाउन थालेका छन् । युवाहरु विदेश पलायन हुने क्रम तीव्र छ । यस्तो बेला पहेंलो लुगा लगाएर एकदशक पहिले सडकमा गणतन्त्रको आह्वान गर्ने कृष्ण पहाडी कता हराए ? उनी अहिले किन निश्क्रय छन् ?

पहाडीले आफू मिडियाको चर्चामा कमै आए पनि निश्क्रिय नबसेको अनलाइनखबरलाई बताए । हालै मेची, कोशी र सगरमाथाका १३ जिल्लामा अभियान चलाएर राजधानी फर्केका पहाडीले ऐतिहासिक जनआन्दोलन दिवसका दिन अनलाइनखबरसँग विशेष कुरा गर्दै अब पुनः सक्रिय भएर देशव्यापी अभियानमा उत्रने घोषणा गरे । पहाडीले अब १० हजार राष्ट्रिय स्वयंसेवक निर्माणमा जुट्ने बताए ।

आज जनआन्दोलन दिवस हो । ०४६ सालको जनआन्दोलनमा तपाई आजको दिन कहाँ हुनुहुन्थ्यो ?

०४६ सालको आन्दोलनमा सक्रिय थिएँ । फागुन ५ गते बिराटनगरस्थित मेरो घर खानतलासी गरियो । सबै पुस्तकहरु जफत गरियो । मलाई त्यहाँबाट पक्राउ गरियो र चार ठाउँमा बन्दीगृहमा राखियो । अन्तिममा तेह्रथुम जेलमा राखियो । सुनसरीको तरहरा र तेह्रथुमको जेलमा मैले दुईपटक आमरण अनसन गरेँ । एकपटक ४ दिन र अर्कोपटक ७ दिन अनसन बसेको थिएँ । दोस्रो पटक तरहरा जेलमा अनसनका क्रममा मैले तत्कालीन राजा बीरेन्द्रलाई यो मानव अधिकार उल्लंघनमा तपाई नै जिम्मेवार हुनुहुन्छ भनेर ठाडो पत्र लेखेँ । बहुदलीय व्यवस्थाको घोषणापछि चैत २७ वा २८ गते म रिहा भएँ ।

दोस्रो जनआन्दोलनपछि परिवर्तन आयो, तर व्यक्तिका चरित्रहरु बदलिएनन् । हुलाक बदलियो, तर हुलाकीहरु बदलिएनन् ।

त्यसबेला कति वर्षको हुनुहुन्थ्यो ?

२७ वर्षको थिएँ ।

अहिले बुहदल आएको पनि २६/२७ वर्ष भएको छ, देशमा गणतन्त्र पनि आइसकेको छ, तपाई आफैं गणतन्त्रको पनि अभियन्ता पनि हो, मुलुकले चाँहि यति लामो अवधिमा के पायो ?

पहिलो कुरो के हो भने ००७ सालमा भागेका राजालाई नेपालमा फिर्ता बोलाइएको हो । तर, ०१७ साल आयो । ०४६ सालमा लगभग राजतन्त्रको अन्त्यकै नजिकै थियो । निरंकुश राजतन्त्र अन्त्य भएकै हो, तर ०५९ असोज १८ र ०६१ माघ १९ आयो । अब एउटा प्राक्कथन अन्त्य भयो, अब लोकतन्त्रका लागि सदैव संघर्ष गरिरहनुपर्दैन, त्यसका लागि राजनतन्त्रको अन्त्य गर्नुपर्छ भनेर हामी लाग्यौं । राजतन्त्रको अन्त्य पनि भयो ।

म के कुरामा सन्तोष अनुभव गर्छु भने हाम्रो एजेन्डाले स्थान हासिल गरेको छ । किनभने माओवादीले भनेजस्तो एकदलीय जनवादीकरणमा पनि देश गएन । संविधानसभाले त्यो भविष्यलाई समाप्त गरिदियो । राजतन्त्र पनि यो मुलुकमा रहेन, रहृयो त लोकतान्त्रिक गणतन्त्र । जनता केन्द्रविन्दुमा रहे ।

तर, राजनीतिक दलहरुको के बुझ्नुपर्छ भने चराले जतिसुकै लामो उडान भरे पनि बास बस्न धर्तीमा भएको गुणमा फर्किनै पर्छ । त्यस्तै, राजनीतिक दलहरुले जतिसुकै सत्तामा पुगे पनि र अहंकार गरे पनि जनतामा मत माग्न त जानैपर्छ । न्यायाधीश भनेका जनता हुन् ।

तर, अहिले जनता कमजोर छन् त्यसैले राष्ट्रिय स्वाधीनता कमजोर छ । यो राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउनका लागि व्यक्ति वा समुदायका अधिकारहरुको सुनिश्चित गर्नुपर्छ । र, आज पनि हाम्रो अभियान निरन्तर छ ।

निरन्त्ार के हो भने शान्तिको सुनिश्चितता, अधिकारको सुदृढता, अहिंसाको प्रधानता, लोकतन्त्रको व्यापकता र विविधतालाई उत्सवकोरुपमा ग्रहण गर्नसक्ने संस्कारको विकास, विविधताको संयोजनबाटै नेपालको निर्माण भएको हो र विविधताको संयोजनबाटै नेपाला राष्ट्र अगाडि बढ्छ ।

लोकतन्त्र र गणतन्त्र त आयो, तर जनताले सुख पाएनन् नि ? किन यस्तो भइरहेको होला ?

दोस्रो जनआन्दोलनपछि परिवर्तन आयो, तर व्यक्तिका चरित्रहरु बदलिएनन् । हुलाक बदलियो, तर हुलाकीहरु बदलिएनन् । त्यसैले राज्य पुनसंरचना र समाज सुधारको प्रक्रिया निरन्तर चलिरहने प्रक्रिया हो ।

कुनै संविधान, कुनै पनि परिवर्तन सफलताको सूचमा त्यसबेलामात्रै मानिन्छ, जब देश सम्मृद्धिको शिखरमा अघि बढ्छ । हाम्रो देशमा सम्मृद्धि नभएसम्म हरेक परिवर्तनको औचित्यमाथि प्रश्न उठाउँछन् र उठाउने ठाउँ पनि रहन्छ ।

नागरिक आन्दोलन वा नागरिक समाजको रुपमा त्यो बेला जुन भूमिका निर्वाह भयो हामीलाई पनि आम नागरिकले केही प्रश्न गर्नुहुन्छ । सन्तोष गर्ने ठाउँ पनि छ, विस्मात गर्ने ठाउँ पनि हुन सक्छ । म यतिमात्रै भनूँ, समुद्र मन्थन गर्दा अमृत पनि निस्कियो, विष पनि निस्कियो । अमृतजति देवतालाई बाँडियो र विष जति शिव भवगानले नीलकण्ठ भएर ग्रहण गर्नुभयो र आफू नीलो हुनुभयो ।

नेपालमा धेरै आन्दोलनहरु भए । ती आन्दोलनहरुबाट अमृत पनि निस्किएको छ, विष पनि निस्किएको छ । अमृतजति नेताले आफू खाए, विष जति जनतालाई बाँडे । जबकि आवश्यकता के हो भने विषजति नेताहरु आफूले धारण गरेर अमृतजति जनतामा बाँड्नुपर्छ भन्ने आवाज मैले अहिले पनि उठाउँदै आएको छु ।

दोस्रो जनआन्दोलनमा गणतन्त्रको आन्दोलनमा अगुवाइ गर्नुहुने तपाई अहिले किन निश्क्रिय हुनुभएको ?

होइन । प्रेससँग मेरो एउटा द्वन्द्व के चल्यो भने मैले अन्तवार्ता पनि दिन छाडेँ । लेख लेख्न छोडेँ । बोल्ने कुरा केही छैन भने किन धेरै बोलिराख्ने ? संकटका बेलामा हामी सल्बलाउने हो ।

हामीले प्राथमिकताका आधार बदल्यौं । जगत रहे जीवन रहन्छ, जीवन रहे तपाईको कर्म निरन्तर रहन्छ । त्यसैले विश्वव्यापी उष्णताको बारमा बहस चलायौं । आणविक अस्त्रको विरुद्धमा मैले २० वर्षदेखि म काम गर्दै आएको छु । यी कुराहरु धेरै सुनिएनन्, यी विषयहरु समाचार बन्दैनन् । म प्रेस स्वतन्त्रताकै पक्षपाती हुँ, तर मेरा आफ्नै मान्यताहरु छन् । म प्रेसका पछाडि भाग्दिँन ।

मैले स्थापना गरेको शान्ति समाजले भूकम्प आएका बेला उद्धारमा आफ्नो ध्यान केन्दि्रत गर्‍यो, सरकारलाई २ लाख रुपैयाँ दियो । २५ लाख रुपैयाँको राहत बाँड्यो । यो साल पनि साढे ३ लाख रुपैयाँको राहत बाँडिसकेको छ । ठूलो प्राकृतिक विपत्ति परेका बेला उद्धार, राहत र पुनर्वासका लागि सेना पुलिस र सशस्त्रको ६०-७० हजारको बलियो स्थायी युनिट हुनुपर्छ भनेर हामी निरन्तर लागिरहृयौं । तर, हाम्रो कुरा सुनिएन । यो संविधानको प्रस्तावनामै अहिंसा र जीवनचक्र सन्तुलन राखौं भनेका थियौं, तर हाम्रो कुरा सुनिएन । यतिहुँदा हुँदै पनि हामीले संविधानको आलोचना नगरेर स्वागत गर्‍यौं किनभने संविधान त्योबेला नबनेको भए कहिल्यै बन्दैनथ्यो । संसारमा बनाउनेकै नाम हुन्छ ।

बेलायतमा लिखित संविधान नै छैन होला, अमेरिकामा अहिलेभन्दा एक चौथाइ राज्य पनि थिएनन् संविधान बन्दाखेरि । भारतमा १०० पटकभन्दा बढी संशोधन भएको छ । शान्तिपूर्ण प्रक्रियाले अधिकारको माध्यमबाट सुनिश्चित गरौं भनेर हामी हिँडेको हो । हामीलाई के लाग्छ भने समुदायबीच दूरी बढ्यो भने जुनसुकै तन्त्र आए पनि टिक्दैन । समुदायबीच स्थिर र सुमधुर सम्बन्ध हुनुपर्छ भनेर आज पनि हामी अभियानमा लागेका छौं ।

म दाबाका साथ भन्छु कि घृणात्मक अभिव्यक्तिलाई बोक्दा भारत एक दिन बिखण्डनमा जान सक्छ, तपाईंले जस्तो बीउ रोप्नुहुनछ, त्यसले आफुलाई पनि खान्छ ।

कस्तो अभियान ?

देशलाई तोड्ने होइन, जोड्ने अभियान भनेर हामी एकतामा जोड्ने अभियानमा लागेका छौं । र, हामीले शत्रुताविहीन आचरणका लाागि आज पनि प्रयास गरेका छौं । अब कतिपय कुरा अमूर्त मानिँदोरहेछ । हिमालय बचाउ आन्दोलनमा म संलग्न छु । अहिले भर्खरैको हाम्रो १३ जिल्लाको यात्रामा पनि हिमालय बचाउँ, चुरे बचाउँ, पहाड बचाउँ, तराई बचाउँ भनेर लागिरहेका छौं ।

भारतीय नाकाबन्दीको विरुद्धमा हामी सडकमा उत्रियौं । तीनपटक गिरफतारी पनि भयो । विश्वव्यापीरुपमा समाचारहरु आए । भारतीय सञ्चार माध्यमहरु यति ठूलो साथ र सहयोग गरे कि म दाबाका साथ भन्छु ।

नेपालको आन्तरिक सञ्चार माध्यमहरुले पनि ठूलो सहयोग गरेका छन् । आम जनजीवनबाट जुन स्वागत र उत्साह छ, उहाँहरुले जुन पैसा दिनुभयो । खुवाउनुभो, पियाउनु भो, सत्कार गर्नुभयो त्यसबाट म फेरि नयाँ सिराबाट आफ्नो अभियानलाई संयोजन गर्दैछु ।

यो अभियान कहाँ कहाँ चलाउनुभयो ?

१३ वटा जिल्लामा खुल्ला नागरिक सभाहरु भए । मेची र कोशीका १० वटै जिल्ला, उदयपुर, सर्लाही र बारामा हालैमात्र सकिएको छ । मेरो स्वास्थ्यले साथ थियो र अलिकति कोष जुट्यो भने हामी यो अभियानलाई राष्टव्यापी बनाउँछौं । अहिले त हामी ऋणमा सञ्चालित छौं । हामीले राजनीतिक समाज र नागरिक समाजलाई साथमै राखेर यो देश बचाउन लागिरहन्छौं ।

घृणात्मक अभिव्यक्ति मानवताविरुद्धको अपराध हो भनेर हामीले प्रमाणित गरेका छौं । अमेरिकामा एकजना राष्ट्रपतिको उम्मेदवारले जातीय घृणा फैलाए भनेर प्रर्दशन हुन थालेको छ । भारतमा हेर्नुस्, नाकाबन्दी मानवताविरुद्धको अपराध हो भन्दा हामीलाई पक्राउ गरियो, तर, भारतले यो अधिकारको आन्दोलन हो भनेर ‘ग्लोरीफाइ’ गर्न खोज्यो । तर, अहिले जाटहरुले यमुनाको नहर काटेर दिल्लीमा आन्दोलन गर्दा तरुन्त भारतीय अदालतले त्यसलाई हामीले भनेजस्तै मानवता विरुद्धको अपराध भनेर ब्याख्या गरेको छ । त्यसपछि तुरुन्त सेना परिचालन भएको छ । नेपालमा नाकाबन्दी गर्दा अधिकारको आन्दोलन भन्ने अनि आफ्नो देशमा सेना परिचालन गर्ने ?

म यो दाबाका साथ भन्छु कि घृणात्मक अभिव्यक्तिलाई बोक्दा भारत एक दिन बिखण्डनमा जान सक्छ । तपाईंले जस्तो बीउ रोप्नुहुनछ, त्यसले आफुलाई पनि खान्छ । देश विभाजनको कुरा अभिव्यक्ति स्वतन्त्रतामा पर्छ भन्दै केही भारतीय कोणले नेपालमा त्यसलाई बोकेर हिँडे । तर, भारतको उच्च अदालतले नै यो अभिव्यक्ति स्वतन्त्रतामा पर्दैन भनेको छ ।

फेरि एकपटक दोहोर्‍याउँछु, अमृतजति दल र नेताले खाने र अनि बिष जति जनतालाई दिने संस्कृति अन्त्य गर्नुपर्छ, अब नेताले विष खाएर अमृत जनतालाई बाँड्नुपर्छ ।

तपाईहरुको अभियानको लक्ष्य के हो ?

पहिलो लक्ष्य सदुदायबीच सुमधुर सम्बन्ध । दोस्रो लक्ष्य शत्रुताबिहीन आचरण, तेस्रो आन्दोलन कसैले गर्छ भने पनि अहिंसात्मक गर्नुस्, आन्दोलन हिंसात्मक हुन नदिनुस्, त्यस त्यस्ता आन्दोलनमा राज्यलाई दमन गर्न नदिनुस् । नागरिक समाज चट्टान जस्तो उभिनुपर्छ । नागरिक समाज र राजनीतिक समाजबीचको सहकार्य समुदायबीच सुमधुर सम्बन्ध कायम राख्न हुनुपर्छ ।

चौंथो हाम्रो लक्ष्य, गत बैशाखको भूकम्पजस्तो अन्य भूकम्प आयो भने यो राज्य उद्धारमुखी, सेवामुखी र पुर्नबासमुखी हुनुपर्छ । त्यस्तो बेलामा हामी सेना प्रहरीसँग भारी बोकेर जान तयार छौं । बैशाखको भूकम्पका बेला प्रधानमन्त्रीलाई हामी स्वयम्सेवकका रुपमा जान तयार छौं भनेका थियौं । अब हामीले १० हजार राष्ट्रय स्वयमसेवक हुनुपर्छ भनेका छौं ।

भन्दा गफ हुन्छ । तर, ५ सय देखि १ हजार स्वयमसेवक त हामी जहिले पनि निकाल्न सक्छौं । राजनीतिक दलहरु पनि राष्ट्रिय ब्यानरमा स्वयम्सेवक निकाल्नुपर्छ ।

हाम्रो पाँचौं लक्ष हो, हिमालय बचाउ आन्दोलन । किनभने हाम्रो जीवनको स्रोत हिमाल हो । हाम्रा नदीनालाहरु त्यहीँबाटै निस्किएका हुन् ।

छैठौं हो चुरे बचाऊ । चुरे चाल्नोमा प्वाल परेको जस्तो भएको छ । तराई मरुभूमीकरणमा जाँदैछ । त्यसैले हामीले नाकाबन्दी जस्तो मानवताविरुद्ध आन्दोलन नगर्नस् भन्यौं ।

हामीले भारत र चीनसँग जोडिएका जिल्लाहरुमा कार्यक्रम गर्‍यौं । सबै कार्यक्रमका आउने विभिन्न दलका मान्छेले समर्थन मात्रै गर्नुभएन कि नागरिक समाजको धारणा यही हो भन्नुभएको छ ।

यसोभए अब तपाई फेरि विगतकै जस्तो सक्रिय हुने ?

पहिला त म जगत र जीवन बचाउने आन्दोलनमा आफ्नो सबै उर्जा खपत गर्न चाहन्छु । आन्दोलन अराजक र जातिवादी हुनुहुँदैन । हामी कुनै मधेस आन्दोलन र कुनै जनजातिको आन्दोनलको विरोध गर्दैनौं । म दाबाका साथ भन्छु, आन्दोलन जातिवादी हुँदा लक्ष्यमा पुग्न सकिँदैन । यसमा घृणा र हिंसा मिसियो भने अनर्थ हुन्छ ।

मधेसका बारेमा यस्तो भन्न खोज्नुभएको हो ?

अधिकारको आन्दोलनबाट लडौं । मधेसमा पनि मैले भनेको छु, अधिकारमुखी आन्दोलन हुनुपर्छ ।

भारतका एकजना पूर्वप्रधानन्यायाधीशले पनि क्षेत्रवाद बढ्दा हिंसा बढ्यो भनेका छन् । नेपालमा पनि संघीयताको समस्या होइन । यो त अब अवलम्वन हुनुपर्छ । स्वायत्तता हुनुपर्छ । स्वायत्तता जनताको जीवन स्तर उकास्न प्रयोग हुनुपर्छ । क्षेत्रवादका हिसाबले मधेसमा आन्दोनल बढ्यो भने कहीँ पनि पुगिँदैन, लेखेर राख्नुस् ।

आइएलओ-१६९ को अभिसन्धी छ, त्यसमा हस्ताक्षर गराउन मैले पनि भूुमिका खेलको छु । तर, त्यसको अपब्याख्या हुनुहुँदैन । समुदायबीचको सुमधुर सम्बन्ध हुनुपर्छ ।

अनि यसमा हिमाल बचाउ अभियानचाँहि किन नि ?

स्टेफेन हकिन्सले केही महिना अघि भनेका छन् मानव जीवन खतरामा छ । उनले आणविक अस्त्र र जलवायु परिवर्तनका कारण दर्शाए । हामीले पनि २० वर्षदेखि त्यही भनेर अभियान चलाइरहेका छौं । हाम्रो कुरा अलि ज्यादा सुनिएन ।

अहिंसा नलेखिएकोमा संविधानमा हाम्रो पनि असहमति छ । तर, हामी रोएर हिँडेका छैनौ नि त । संशोधन गर्दै लैजानुपर्छ । त्यसैले घृणात्मक अभिव्यक्तिलाई बोक्न खोज्दा भारत पािन त्यसको सिकार भएको छ । देश विभाजनलाई स्वतन्त्रता भन्दा भारतीय अदालतले नै त्यसलाई अपराध भनेर व्याख्या गर्नुपर्‍यो । त्यसैले बिषलाई अमृत भनियो भने त्यसले आफैंलाई खान्छ ।

फेरि एकपटक दोहोर्‍याउँछु, अमृतजति दल र नेताले खाने र अनि बिष जति जनतालाई दिने संस्कृति अन्त्य गर्नुपर्छ । अब नेताले विष खाएर अमृत जनतालाई बाँड्नुपर्छ ।

सर्पको विष, जुन प्राणघातक हुन्छ, त्यसबाटै सर्पको विषनाधक औषधि बन्छ । हिंसाले हिंसालाई पराजित गर्न सक्दैन, अहिंसा नै चाहिन्छ । प्रतिशोधले घृणालाई जन्म दिन्छ । प्रेम, करुणा र सहिष्णुताले हिंसालाई पराजित गर्नुपर्छ । अब जे-जे बिष निस्किएका छन्, त्यसलाई औषधि बनाउन सक्नुपर्छ ।

नाकाबन्दीलाई तपाईहरुले किन ‘अपराध’ घोषणा गर्नुभएको ? यो अधिकारको आन्दोलनसँग सम्बन्धित होइन र ?

जब नाकाबन्दीमा जनता पिल्सिएका थिए्, हामी सडकमा उत्रियौं । त्यतिबेला विश्वब्यापी र भारतीय मिडियाले हामीलाई साथ दिएका थिए । भारतकै नागरिक समाजले हामीलाई साथ दिएका छन् ।

मैले भारतीय दुताबास अगाडि नै भनेको थिएँ-‘बिहारको चुनाव नजिक छ, विश्लेषकले भाजपा र उसको उसको गठबन्धनले जित्छ भनेका छन्, तर मैले भाजपाले चुनाव हार्छ, नेपालको नाकाबन्दीलाई भारतीय जनताले दुत्कार्नेछन् भनेको थिएँ । नभन्दै परिणाम मैले भनेजस्तै आयो । किनभने अतिवादलाई जनताले स्वीर्कादैनन् ।

निश्कर्षमा भन्दा सेवामुखी, जीवनमुखी, जगतमुखी भएर म लागेको छु । राज्य पुर्नसंरचनाका क्रममा आन्दोलनलाई शान्तिपूर्ण र अधिकारमुखी तवरले सम्बोधन गर्नुपर्छ । अधिकारका आन्दोलनलाई सम्वोधन गर्नुपर्छ ।

राज्यको चरित्र सधैं निरंकुश हुन्छ, कहिलेकाँही अतिवादी नै हुन्छ । राज्यले दमनलाई रोक्नुपर्छ । राज्यले मान्छे मार्दा हामी सही भन्न सक्दैनौं । आन्दोलनकारीले हिंसा र घृणालाई रोक्नुपर्छ ।

मधेसमा अहिले पाकिरहेको राजनीतिलाई कसरी हेर्ने ?

मधेसमा थोरै प्रदेश बनाएर त्यसले पहाडलाई अलिकति नियन्त्रण गर्ने र समग्र नेपाललाई नियन्त्रण गर्ने आशयले केही कोणबाट हावा भरिएको छ । त्यस्तै चीनको सीमानामा कसैलाई धेरै राज्य चाहिएको हुँदाखेरि केही कोणबाट हावा भर्ने प्रयत्न भएको छ ।

यसमा छिमेकीको पनि केही चासो छ कि ?

भारत र चीन दुबै नेपालका छिमेकी हुन्, दुबै उदीयमानमात्रै होइन, उदाइसकेका आर्थिक शक्ति हुन् । एउटा विश्वकै दोस्रो आर्थिक शक्ति र अर्को विश्वको नवौं आर्थिक शक्ति छन् । यसको सम्मृद्धिबाट नेपालले लाभ लिनुपर्छ । दुबै देशको सुरक्षामा खतरा हुने अनुभूति नेपालबाट कसैले पनि गराउनुहुँदैन । यी दुईको झगडामा पर्नेभन्दा पनि यी दुईलाई मिलाउनेतर्फ लाग्नुपर्छ ।

भारत, पाकिस्तान र चीन तीनवटैसँग आणविक अस्त्र छ । १९४५ मा पडि्कएको एटम बम भन्दा हजारौं गुणा शक्तिशाली हाइड्रोजन बमहरु अहिले बनिसकेका छन् । कुनै दुईवटा सन्की शासक निस्किएर दक्षिण एसियामा युद्ध भयो भने त यहाँको सभ्यता त समाप्त हुन्छ । त्यसैले नेपाल र भारत मित्रतालाई पनि मजबुत गर्नुपर्छ । त्यसलाई जनस्तरमा सम्बन्ध राम्रो पार्नुपर्छ ।

चीन र नेपालको बीचमा पनि मैत्री र सम्बन्धलाई सुमधुर बनाउँदै लानुपर्छ । चीनको सुरक्षा खतरा हुने काम यहाँबाट गर्नु हुँदैन भन्ने कुरा एउटा देशबासीको नाताले म पनि अनुभव गर्छु । यद्यपि स्वतन्त्रताका प्रश्नमा, मानवअधिकारका प्रश्नमा आलोचनाहरु आफ्नो ठाउँमा हुन्छन् र गर्नुपर्छ ।

दोस्रो कुरा भारत र चीनले आफ्नो सुरक्षामा असर पर्नेकुरा नहोस् भन्ने चाहन्छन् भने नेपाल सार्वभौम र स्वतन्त्र राष्ट रहिरहोस भन्ने कुरामा निष्कलंक र शंकारहित वातावरण सिर्जना गर्नुपर्छ । त्यो गरेनन् भने नेपाल प्रायोग भूमिमात्रै हो, म दावाका साथ भन्न सक्छु यसबाट दुईवटै देशको स्वतन्त्रता खतरामा पर्न सक्छ । यो कुरा दुईवटै देशले बुझ्नुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment