२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक भारतीय टेलिभिजनलाई जल्दोबल्दो विषयमा दिएको अन्तरवार्ता हालै सार्वजनिक भएको छ । भारतको सरकारी राज्यसभा टेलिभिजनका अखिलेश सुमनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले आक्रामक जवाफहरु दिएका छन् ।
अन्तरवार्ताकारले नेपालको संविधानले मधेसीहरुलाई ‘विभेद’ गरेको विषयमा धेरै प्रश्नहरु सोधेका थिए । प्रश्नोत्तर हिन्दी भाषामा भएको छ । भाषिक असहजताले गर्दा प्रधानमन्त्रीले दिएका कतिपय जवाफ अपूर्ण र अस्पष्ट लागे पनि केही जवाफ चोटिला छन् । प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंशः
हालै भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा तपाईंले दुई देशबीच रहेका मतभेद अन्त्य भए भन्नुभयो, तर खास मतभेद के थियो किन भन्नुभएन ?
तपाईंलाई मैले बोलेको शब्द याद छ भने मैले मतभेद भनेको थिइँन । मैले भनेको थिएँ, ‘दियर आर सम मिसअन्डरस्ट्यान्डिङ्स’ । मैले असमझदारीको कुरा गरेको हुँ । म यसलाई मतभेद होइन, असमझदारी मान्छु ।
तर, तपाईंहरुको संविधानमा मधेसीहरुलाई विभेद गर्ने प्रावधान छ भनेर विरोध हुँदै आएको छ नि ?
तपाईंले प्रश्न गर्नुभयो । मलाई आशा छ, तपाईंले नेपालको संविधान पढ्नुभएको होला । छैन भने म तपाइर्ंलाई संविधानको एक प्रति दिन्छु । नेपाली जनताले लामो संघर्षपछि आफ्नो लागि बनाएको संविधान हो यो ।
संविधानले मधेसीलाई दोस्रो दर्जाको नागरिक सम्झिएको छ । नागरिकतामा समान अधिकार छैन । समानुपातिक प्रतिनिधित्वको व्यवस्था छैन । यी के विभेद होइनन् ?
यस्तो भावना भ्रमपूर्ण किसिमले फैलाइएको छ । जनताको बीचमा गलत प्रचार गरिएको छ । जनतालाई जे बताइएको छ, संविधानमा यस्तो व्यवस्था नै छैन ।
तर, अझै पनि मधेसीहरु आन्दोलनमा छन् । के त्यस्ता प्रावधान हुन्, जसमा उनीहरुको आपत्ति छ ?
यो प्रावधानको सवाल होइन । संविधानभित्र के छ, के छैन भन्ने सवाल होइन । यो उनीहरुको राजनीतिक उद्देश्यको सवाल हो ।
नेपालको समस्याका विषयमा भारतीय जनता सुन्न चाहन्छन् । विहार उत्तराखण्ड, उत्तर प्रदेश सबैलाई नेपालप्रति चासो छ । उनीहरुलाई पनि लागेको छ कि नेपालको संविधानले मधेसीलाई धेरै अन्याय गर्यो…
तपाईंलाई एउटा कुरा बताउँ । म पहाडमा पैदा भएँ । तराईमा आएँ । तराई आएको ५५ वर्ष भयो । आज उनीहरुको परिभाषाले मलाई मधेसी मान्दैन । हामीभन्दा कयौं वर्षपछि भारतबाट आएर नागरिकता लिएकाहरुले आफूलाई धर्तिपूत्र बताउँछन् । जबकि उनीहरुभन्दा पुस्तौं अगाडिदेखि तराईमा आएर बसेका नागरिकहरु छन् । कसलाई पहाडी भन्ने कसलाई मधेसी ? तिवारी, पाण्डे कहाँका हुन् ? यादव को हुन् ?
हिमाल, पहाड र तराई सबै नेपाल हुन् । तराईमा हाम्रो सारा खेतीवाला जग्गा छन् । पहाडमा पानी छ । तराईका खेत सिञ्चित गर्न पहाडबाट पानी ल्याउनुपर्छ । पहाडबाट नहर ल्याएर तराईमा सिञ्चित गर्नुपर्छ । यसैलाई यदि क्षेत्रीयतावादी भावना फैलाइयो भने पहाडमा पानी खेर जान्छ भने तराईमा खेत सुख्खा रहन्छ ।
नेपालमा ५० प्रतिशत जनसंख्या मधेसीको छ, तर उनीहरुको राजनीतिक भागीदारी कम छ । अहिले जसरी प्रान्तहरु बनाइएको छ, यसबाट हाम्रो राजनीतिक प्रतिनिधित्व खत्तम हुन्छ भन्ने उनीहरुको चिन्ता जायज होइन ?
नेपालको जम्मा भूगोलको १७ प्रतिशत मात्रै मधेस हो । पहिले देशभरिमा २४० निर्वाचन क्षेत्र थिए । ती मध्ये आठ प्रदेश हिमाली क्षेत्रलाई दिइयो । बाँकी २३२ रह्यो । २३२ मध्ये ११६ तराई र ११६ पहाडलाई दिइएको छ । अन्याय कहाँ भयो ? केवल १७ प्रतिशत भूगोलबाट ५० प्रतिशत प्रतिनिधित्व भएको छ । खोई अन्याय ?
११६ सिटमध्ये हामीले १०५ सिट जितेका छौं । उनीहरुले जम्मा ११ जनाले जितेका छन् । भने मधेसका प्रतिनिधि उनीहरु कि हामी ? उनीहरु कसरी मधेसका मसिहा ?
म जुन जिम्मेवारीमा छु, त्यहाँ बसेर धेरै कुरा भन्न सक्दिँन । तर, केही कुरा थप्नुपर्ने हुन्छ । यी पार्टीहरु कहिले खुले ? जब बहुदल आयो, लोकतन्त्र आयो, जब निर्वाचन आयोगले दल दर्ता खोल्यो, तब उनीहरुले पार्टी बनाएर दर्ता गरे । यी दर्तावाला पार्टी न हुन् । हामी दर्तावाला होइनौं । जब नेपालमा अन्धकार युग थियो, राणाशाही थियो, पार्टी खोल्न त के कुनै धार्मिक धार्मिक संगठन पनि बनाउन पाइँदैनथ्यो, त्यतिबेला हामीले राजनीति गर्यौं ।
अहिलेको प्रावधानअनुसार विदेशमा विहे गर्नेहरुका बच्चा टप पोस्टमा जान सक्दैनन् । नागरिकतामा त विभेद छ नि ?
गलत । नेपालका जो नेपालका नागरिक हुन्, उनीहरु राष्ट्रपति, उपराष्ट्रपति सेनापति जे पनि बन्न सक्छन् । जो बाहिरबाट आएका अंगीकृत छन्, उनीहरुका लागि आफ्नो खालको अभ्यास छ । मानौं तपाईं नेपाल आउनुभो र कानूनअनुसार नेपालको अंगीकृत नागरिक बन्नुभयो । त्यतिबेला तपाईं मन्त्रीदेखि सांसद र सेनाको जर्नेलसम्म बन्न पाउनुहुन्छ । तर, राष्ट्रप्रमुख, सरकारप्रमुख र संविधान अंगको प्रमुख बन्न पाउनुहुन्न । तपाईं आउनासाथै राष्ट्रपति बन्न पाउनुहुन्न ।
दुनियाँमा जहाँ पनि यस्तै हुन्छ । अमेरिकामा के छ भने आफ्नै नागरिक भए पनि बाहिर जन्मेको भए पाउँदैन । भारतमा तपाईंलाई याद होला, विदेशमा जन्मेको व्यक्तिका विषयमा कयौं सवाल उठेका थिए । म त्यतातिर जान जाहन्न ।
त्यो त विदेशमा पैदा भएको विषय भयो । त्यस्तो व्यक्तिबाट जन्मेको बच्चाको विषयमा चाहिँ के हुन्छ ?
तपाईं नागरिक बनेपछि तपाईंको बच्चा बंशज नागरिक बन्छ र उसलाई सबै बराबर अधिकार हुन्छ । तपाईंको बच्चा-बच्ची जे पनि बन्न सक्छन् ।
भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीसँग कुराकानी गर्दा चासो के पाउनुभयो ?
भारतीय नेताहरुलाई ‘मिस इन्र्फम र मिस गाइड’ गरियो । कुनै पनि नेताले दुनियाँका सबै संविधान पढेर बसेका हुँदैनन् । मैले पनि पढेको छैन । आवश्यक पर्यो भने पढ्ने हो । नत्र बि्रफिङ दिनेहरुमा भर पर्नुपर्छ । त्यसैका आधारमा इम्प्रेसन बन्छ । मलाई लाग्छ, उहाँहरुलाई गलत बि्रफिङ दिँदा असमझदारी उत्पन्न भयो ।
नेपालमा संविधान घोषणा हुनुअघि एस जयशंकर आउनुभएको थियो । के उहाँलाई पनि थाहा थिएन नेपालको संविधानको विषयमा ?
मैले उहाँलाई लगभग दुई घण्टा लगाएर विस्तारमा बताएँ । पहिलो एक घण्टा राजदूत र अरुसँग बसेर कुरा भयो । फेरि ‘वान टु वान’ बसेर उहाँलाई स्पष्ट पारेँ । उहाँसँग मेरो राम्रो ढंगले कुरा भएको हो । संविधानलाई सहयोग गर्न मैले आग्रह गरेको थिएँ । हामी दुनियाँका सबै देशबाट सहयोग र समर्थन चाहन्छौं ।
प्रधानमन्त्री बनेपछि मधेसी नेतासँग कुराकानी गर्नुभयो ? उनीहरुको भनाइ के छ ?
उनीहरुसँग अस्तिसम्म पनि कुरा भइरहेको थियो । हामी संवादबाटै समस्या समाधान गर्न चाहन्छौं ।
कुन-कुन नेताहरुलाई भेट्नुभएको छ ? उनीहरु त फेरि आन्दोलन गर्ने भन्दैछन् ?
मेरो विचारमा आन्दोलन गर्ने छैनन् । उनीहरु हामीलाई दबाव दिन चाहन्छन् आन्दोलनका नाममा । म भन्छु, दबाव दिनै पर्दैन । हामी यति खुल्ला छौं । यो देश मेरो एकलौटि होइन ।
के दबाव बनाउन चाहन्छन् उनीहरु ?
उनीहरुको कुरा सुनियोस, समाधानको नाममा कुनै सम्झौता गरियोस भन्ने छ । हामी सबै कुरा मान्छौं, तर देशलाई नोक्सान हुने, जनतालाई नोक्सान हुने कुरा मान्दैनों ।
असझदारीकै कुरा गर्दा नेपालमा भारतले नाकाबन्दी लगाएको हो भन्ने भ्रम तपाईंहरुमा थियो । त्यो चाहिँ तोडियो कि तोडिएन ?
एकपटक एकजना पत्रकारले मलाई सोधे, ‘तपाईं जवान हुँदा कुनै केटीसँग तपाईंको प्रेम थियो ?’ मैले जवाफ दिएँ, ‘थियो भने पनि म अहिले तपाईंलाई भन्दिनँ । त्यो पुरानो कुरा हो । त्यो केटी आज कसैकी हजुरआमा होलिन् । म कसैको हजुरआमासित मेरो प्रेम थियो भनेर खुलासा किन गर्नु ?
भारतले नेपाललाई दिने अनुदानमा १२० करोड घटाइएको छ । तपाईंको भ्रमणपछि भारतको तर्फबाट यो एक्सनले के संकेत गर्छ ?
मलाई त्यस्तो ठूलो कुरा लाग्दैन । यसलाई आवश्यकताअनुसार बढाउन-घटाउन । यो भारतको बजेट हो । यसमा भारतको संसदले छलफल गर्छ । मैले चर्चा गरिरहनु पर्ने आवश्यकता छैन । जरुरत भयो भने भारतसँग कुरा गर्छौं ।
पछिल्लो समय नेपाल भारतसँग टाढिएर चीनसित नजिक हुन खोजेको पाइन्छ । तपाईंले पनि भारतभन्दा अगाडि चीन जान्छु भन्नुभएको थियो । यसको कारण के हो ?
मैले कहिले पनि त्यस्तो भनेको छैन । कहाँ पहिले जाने भन्ने संयोगको कुरा हो । हाम्रो भारतसँग पनि सीमा जोडिएको छ र चीनसँग पनि । हामीलाई दुवैसँग राम्रो सम्वन्ध राख्नुछ । हामीलाई शान्तिसँग बस्नुछ । हामी आकार र जनसंख्यामा साना छौं, विकासमा पछाडि छौं । ठूला छिमेकीको विकासबाट लाभ लिन चाहन्छौं ।
मधेसीका लागि राज्यसभा टीभीमार्फत तपाई के भन्न चाहुनुन्छ ?
मेरो योजना छ सम्पूर्ण नेपाललाई विकासको दिशामा तीव्रताका साथ अगाडि बढाउने ।
मधेसी जनताका लागि चाहिँ भनिदिनुस न ?
उनीहरुको खेतमा धान, गहुँ फलेपछि न हुन्छ । बन्द गरेर केही पनि हुन दिएनन् । टमाटर खेतमा सड्यो, भण्टा सड्यो । मधेसी जनताका नाममा यस्तो भइरहेको छ ।
हामी मधेसी जनताका नाममा होइन, मधेसी जनताको हितमा काम गर्नेछौं । उनीहरुलाई रोजगारी मिलोस, जीवनमा सकारात्मक परवर्तन होस, लोकतन्त्रको अनुभव गरुन् भन्ने हाम्रो चाहना हो । म आफैं तराई र मधेसको हुँ । मधेसी जनताको प्रतिनिधि हुँ । अरु के भनुँ ?
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment