Friday, April 8, 2016

‘मेरो शेषपछि मेरा पुस्तक सार्वजनिक लाइब्रेरीलाई दिनू’

नारायण ढकाल, साहित्यकार

एमए पढ्दा सुनेँ, लेखक अर्नेस्ट हेमिङवेबारे । ०३५/३६ सालतिरको कुरा हो, हामीलाई महेन्द्र अमात्यले पढाउनुहुन्थ्यो । आफ्नो ब्याजको टप स्टुडेन्ट भएर सानै उमेरमा टीयूमा पढाउनुभएको थियो । उहाँबाट सुनेँ- अर्नेस्ट हेमिङवे नोबेल पुरस्कार पाएका ठूला लेखक हुन्, आफूले आफैँलाई गोली ठोकेर मारेका, यस्तै-यस्तै ।

मलाई हेमिङवेका पुस्तक पढ्न मन लाग्यो । त्यतिबेला हाम्रो बजारमा त्यति पुस्तक पाइँदैनथ्यो । अमेरिकन लाइब्रेरी थियो, नयाँ सडकमा । त्यहाँ हेमिङवेको पुस्तक देखेँ- अ फेरवेल टु आम्र्स, घरमा लगेर पढ्न मन लाग्यो । त्यो लाइब्रेरीको सदस्य थिइनँ म । त्यसैले चोर्ने विचार गरेँ ।

जाडो थियो, ज्याकेट लगाएको थिएँ । पुस्तक चोरेपछि थुन्ने त होइन, बेइज्जत हुन्थ्यो । मनमा डर थियो, तैपनि पुस्तकलाई ज्याकेटभित्र हालेँ र त्यहाँबाट निस्केँ । यही नै मेरो पहिलो र अन्तिम अनुभव हो, पुस्तक चोरेको ।

फादर एन्ड सन्स फिर्ता गरेको छैन

बिस्तारै पछि बजारमा पनि पुस्तक आउन थाल्यो । किनेर पढ्न थालेँ । साथीहरूको पुस्तक गलत नियतले लुकाएको घटना त सम्झना छैन ।
तर, साथी भवानी थापासँग लिएको एउटा पुस्तक भने फिर्ता गरेको छैन, त्यो पुस्तक मसँग छ भन्ने उहाँलाई थाहा छ ।
उहाँ झापाको हो, विर्तामोडमा उहाँको घडीलगायतको पसल छ । ०५९ तिरको कुरा होला, म कलकत्ता जाँदा उहाँलाई भेट्न पसेको थिएँ ।

उहाँकोमा इभान तुर्गेनेवको ‘फादर एन्ड सन्स’को नेपाली अनुवाद देखेँ र पढेर फिर्ता गर्न भनेर ल्याएँ । उहाँ लेखक हो, काठमाडौं आइरहनुहुन्छ, भेट भइरहन्छ, तर मैले पुस्तक फर्काएको छैन । कारण, त्यो पुस्तक मलाई असाध्यै मन पर्छ । ‘फादर एन्ड सन्स’ विश्वविख्यात उपन्यास हो । यसमा पिता र पुत्र दुई पुस्ताको कुरा छ । यसमा अत्यन्तै वैज्ञानिक, न्यायप्रेमी कुरा र परम्परागत, प्रतिगामी कुराबीचको द्वन्द्व देखाइएको छ । फादर एन्ड सन्स रुसमा चलेको नयाँ र पुरानो पुस्ताबीचको द्वन्द्वको ऐतिहासिक जगमा उभिएको शक्तिशाली आख्यान हो । यो पुस्तक अहिले पनि मसँग छ, फिर्ता गनर्ैै मन लाग्दैन ।

योबाहेक सामान्यतः मैले फिर्ता गर्ने गरी ल्याएका पुस्तक फिर्ता दिने गरेको छु । मसँग लगेको पुस्तक पनि फिर्ता गरुन् भन्ने चाहन्छु । मेरा थुप्रै पुस्तक हराएका छन्, तर कसैले लगेर फिर्ता नगरेको भन्ने होइन, कसले लग्यो भन्ने नै थाहा छैन ।

मेरो लाइब्रेरी गायब भयो- हाफ अफ अ एल्लो सन

घरमा एउटा कोठामा पुस्तक राख्छु । सुरु-सुरुमा म कोठामा सुत्थेँ । किनभने, त्यतिबेला घर साँगुरो थियो । पछि छोराले घरको तला थप्दै गयो । त्यसपछि भने त्यो कोठामा पुस्तक मात्रै राख्छु ।

नाइजेरियन उपन्यासकार चिमामान्डा अधिचीका तीन उपन्यास छन्- पर्पल हिबिस्कस, हाफ अफ अ एल्लो सन र अमेरिकाना । यी तिनै उपन्यास मसँग थियो ।

चिमामान्डा उमेरले मभन्दा धेरै कान्छी छिन् । उनले देशको राजनीतिक अवस्थालाई आधार बनाएर लेख्छिन्, मैले पनि राजनीतिलाई आधार बनाएर लेख्ने भएकाले उनका उपन्यासको संग्रह गरेको थिएँ । उनी मलाई मन पर्ने लेखक हुन् ।

उनको ‘हाफ अफ अ एल्लो सन’ मेरो र्याकबाट अचानक गायब भयो । घरमा छोरा-बुहारीले पनि पढ्छन् । घरका सबैलाई सोधेँ, कसैले मसँग छ भनेनन् । त्यो पुस्तक कहाँ पर्यो या कसले लग्यो भन्ने रहस्यमै छ । त्यो पुस्तक मैले पढिसकेको छु । कतिपय पुस्तक दोहोर्याएर पनि पढ्नुपर्ने हुन्छ, ‘हाफ अफ अ एल्लो सन’ दोहोर्याएर पढ्नुपर्ने पुस्तक होजस्तो मलाई लाग्छ ।

मेरो लाइब्रेरी कहिले खुलै हुन्छ, कहिले साँचो लगाएको हुन्छु । मलाई माया गर्नेहरू भेट्न आइरहनुहुन्छ, पुस्तक कोठामा पस्नुहुन्छ । कसैले लग्यो भनेर आरोप लगाउन खोजेको त होइन, यदि कसैले लगेको छ र मलाई फिर्ता दिए आभारी हुने थिएँ ।

‘रेड स्ट्राइडस् अफ द हिस्ट्री’

अर्को पुस्तक हरायो, रेड स्ट्राइडस् अफ द हिस्ट्री, नन्दकिशोर पुन पासाङको । जुन मेरा लागि महत्त्वपूर्ण थियो । पासाङ माओवादी युद्ध लडेका ठूलो पोस्टका सेना भएको र युद्धबारेको अध्ययन मेरो रुचिको भएको र आवश्यक पनि भएकाले त्यो पुस्तक किनेको थिएँ । त्यो पुस्तक पनि मेरो लाइब्रेरीमा छैन ।

अहिले मैले जनयुद्धको आधारमा उपन्यास लेख्दै छु, प|mस्र्ट ड्राफ्ट सकिसकेको छु । मेरो उपन्यासको पात्र पनि लडाकु नै छ । माओवादी युद्धका केही तथ्यगत कुराका लागि त्यो पुस्तक मलाई आवश्यक थियो । पछि खोज्दा लाइब्रेरीमा भेटिनँ, मिस प्लेस भयो कि ? घरमा नभेटेपछि बजारमा खोजेँ, बजारमा पनि पाउन मुस्किल रैछ, बल्लबल्ल वागबजारको प्रगति पुस्तक पसलमा भेटेँ र किनेँ ।

पहिलोपटक पढेको अंग्रेजी र हिन्दी पुस्तक

मेरो घरमा पहिलेदेखि नै रामायण, महाभारतलगायत संस्कृतका पुस्तक थिए । मेरो हजुरबुवा, बुवाले ज्योतिष हुनुहुन्थ्यो । ज्योतिषको भाश्वती हजुरबुवाले मलाई पढाउनुभएको थियो । दुर्गाकवच, चण्डी घोक्न लगाउनुहुन्थ्यो । बुवाले बोधविक्रम अधिकारीका कथा, गुरुप्रसाद मैनालीका कथाहरु संग्रह गर्नुहुन्थ्यो, पुस्तकको संस्कार मेरो घरमै थियो ।

जुनबेला मैले कविता लेख्न आरम्भ गरेँ, त्यतिबेलाको गोरखापत्रको भाषा नै बुझ्दिनँथेँ, कति संस्कृत मिसाएको भन्ने लाग्थ्यो । जब कि हरेक बिहान हजुरबुवा, बुवाले संस्कृतको श्लोक पढेको सुनेर म हुुर्केको हुँ ।

एलेन गिन्सबर्ग सन्न्यास र साधुत्वको पराकाष्ठामा पुगेका कवि मानिन्छन् । एकजनाले उनलाई सोधे- ह्वाट डु यु मिन बाई नेकेडनेस ? जवाफमा गिन्सबर्ग निर्वस्त्र भइदिए ।

तर, नेपाली भाषा बुझ्नै मैले कठीन अध्ययन गरेँ । त्यसपछि हिन्दी पढेँ । एउटा हिन्दी उपन्यास पढिसकेपछि हिन्दी पढ्न सकिने रहेछ भनेर धेरै खुसी भएको थिएँ । पहिलोपटक पढेको हिन्दी पुस्तक शरदचन्द्रको हो जस्तो लाग्छ ।

त्यसपछि अंग्रेजी पढेँ । पहिलोपटक पूरै पढेर आधाजस्तो आनन्द लिएको अंग्रेजी पुस्तक हो- पर्ल एस बकको उपन्यास, द गुड अर्थ । यो २८-३० सालको कुरा हो ।

‘मेरो शेषपछि मेरा पुस्तक सार्वजनिक पुस्तकालयमा राख्नू’

त्रिचन्द्रमा बीए पढ्दा मैले साहित्य विधाका धेरै पुस्तक पढेँ । पछि म इन्डियन लाइब्रेरीको सदस्य भएँ । बि्रटिस काउन्सिल लाइब्रेरी थियो, कान्तिपथमा, त्यसको पनि सदस्य बनेँ । अमेरिकन लाइब्रेरीको पनि सदस्य बनेँ । सोभियत लाइब्रेरी थियो, वसन्तपुरमा, त्यहाँ पनि पढ्थेँ । नेपाल-चीन मैत्री संघको लाइब्रेरीमा पनि पढ्थेँ ।

म टिचर भएँ, सुरुमै माध्यमिक लेभललाई पढाउँथेँ, त्यसपछि हेडमास्टर भएँ, पैसा आउँथ्यो । घरमा त्यति पैसा बुझाउन पर्दैनथ्यो । त्यसैले मलाई पुस्तक किन्न पुग्थ्यो । चार सय तलब बुझ्दा पनि दुई सयको पुस्तक किन्थेँ ।

अहिले मसँग पाँच हजारजति पुस्तक छन् । यी पुस्तक मेरो शेषपछि कुनै लाइब्रेरीलाई दिन्छु । यो कुरा मैले मेरा छोराहरूलाई पनि भनिसकेको छु । कुन लाइबे्ररीलाई दिने भनेर सोचिसकेको छैन । मैले रोजेको टीयू लाइब्रेरी हो, तर त्यसको व्यवस्थापन त्यति मन परेको छैन ।

चोरीको सौन्दर्य

चोर्ने कुराको पनि सौन्दर्यशास्त्र छ । जिन जेनेटको उपन्यास छ- द थिफ्स जर्नल । जिन जेनेट आपराधिक दुनियाँका मानिस हुन् । यो पुस्तक त्यत्तिकै छायामा परेको थियो, पछि जाँ पाल सात्रले भेटे र हाम्रो समयको धेरै राम्रो उपन्यास हो भनेर लेखिदिए ।

अपराध र चोरीको संसारबाट जीवनको उज्यालो हेर्ने पुस्तक हो यो । कसैलाई चोर हुन मन लाग्छ, यो मनोवैज्ञानिक कुरा हो ।

अब पुस्तक चोर्नुका बाध्यता पनि हुन्छन् । त्रिभुवन युनिभर्सिटी (टीयू) लाइब्रेरीमा पहिले फोटोकपीको व्यवस्था थिएन, त्यतिबेला विद्यार्थीले पुस्तकको भित्री पाना च्यातेर चोरेको पनि देखिन्छ, त्यसरी पाना चोरिएका पुस्तक अझै भेटिन्छन् । तर, मैले पढ्ने बेलासम्म फोटोकपी गर्ने व्यवस्था थियो । त्यसैले मैले पाना नै च्यातेर चोरिनँ ।

हाम्रोमा यसकारण पनि पुस्तक चोर्ने गरिन्छ कि बजारमा महत्त्वपूर्ण पुस्तक पाइँदैनन् । अन्तर्राष्ट्रिय बजारमा चर्चा भइसकेको हुन्छ, तर हाम्रो बजारमा पाइँदैन । कुनै पुस्तकले नोबेल पुरस्कार पाएर चर्चा हुन्छ, तर त्यो पुस्तक हाम्रो बजारमा भेटिँदैन । त्यस्तो बेला कुनै लाइब्रेरीमा त्यो पुस्तक छ भने चोरी हुन सक्छ ।

‘जवाफमा गिन्सबर्ग नांगो भइदिए’

हङ्ग्री जेनेरेसनको साहित्यिक आन्दोलनका कवि हुन्- एलेन गि्रन्सबर्ग । उनी अमेरिकी हुन्, तर हङ्ग्री जेनेरेसनको जमिन कलकत्ता हो । उनी कलकत्ता पनि आएका थिए । उनको पुस्तक निस्केको थियो- हाउल एन्ड अदर पोइम्स । त्यो पुस्तकमाथि पछि मुद्दा लाग्यो । उनका फुटकर कविता मैले पहिले नै पढेको थिएँ । जस्तो, अमेरिका भन्ने कविता पढेको थिएँ, खुब स्वाद परेको थियो । जा अमेरिका, गएर एटम बमलाई सम्भोग गर्, भन्नेजस्ता लाइन थिए । जुनबेला भियतनाम युद्ध भइरहेको थियो, त्यसविरुद्ध उनी थिए ।

एलेन गिन्सबर्ग कपाल पाल्ने साधुजस्ता थिए, होमोसेक्सुलको समर्थक पनि हुन् । उनले समलिंगीसँग नै बिहे गरे, पिटर अर्लभस्कीसँग ।
म पनि सानैदेखि अमेरिका, इन्डियाको साम्राज्यको विरोधी थिएँ, कपाल पालेर हिँड्थेँ, गाँजा खान्थेँ । त्यसैले उनीप्रति मेरो आकर्षण थियो । मैले पत्रिकामा पढेँ, उनको पुस्तकमाथि मुद्दा लाग्यो भन्ने । पछि मुद्दा जिते भन्ने पनि पढेँ । त्यो पुस्तक खुब खोजेँ, तर पाइनँ । त्यो पुस्तक बासु शशिकहाँ छ भन्ने सुनेँ । उहाँकहाँ गएँ । तर, उहाँबाट पनि अर्कैले लगिसकेको रहेछ, पाउन सकिनँ । पछि मेरो साथी राजव दिल्ली गएका थिए, उनले ल्याइदिए । उनको कवितामा एउटा लाइन छ- म गाँजा खाइरहेको छु, मेरो हातमा कार्ल माक्र्सको पुस्तक छ । गाँजा र कम्युनिस्टका पुस्तक, दुवैप्रति मेरो पनि झुकाव थियो र थियो यी लेखकप्रति आकर्षण ।

अपराध र चोरीको संसारबाट जीवनको उज्यालो हेर्ने उपन्यास हो- द थिफ्स जर्नल । जाँ पाल सात्रले यो हाम्रो समयको धेरै राम्रो उपन्यास हो भनेर लेखिदिए ।

उनको दार्शनिक बुझाइको उचाइ बेग्लै थियो । गिन्सबर्ग सन्न्यास र साधुत्वको पराकाष्ठामा पुगेका कवि मानिन्छन् । मानिसहरूले कपडा लगाएको कृत्रिम कुरा हो, हामी वास्तवमा भित्र नांगै छौँ भन्थेँ । एकपटक उनले नेकेडनेस (नांगोपन) बारे प्रवर्चन दिँदै थिए । प्रवर्चनपछि प्रश्नोत्तरको पालो थियो, एकजनाले सोधे- ह्वाट डु यु मिन बाई नेकेडनेस ?

जवाफमा गिन्सबर्ग निर्वस्त्र भइदिए । उतिबेला त अश्लीलताकै आरोपमा उनका कवितामाथि मुद्दा लागेको थियो । अहिले उनी अमेरिकाका सम्मानित कवि हुन्, अमेरिकामा उनको स्थान उच्च छ ।

उनको प्रभावले हङ्ग्री आन्दोलनको आधारमा मैले पनि केही कथा लेखेको छु ।

प्रस्तुति : ध्रुवसत्य परियार


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment