सन्देश श्रेष्ठ
२३ चैत, पोखरा । ‘सुन्दर गाउँ, हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं’ भन्ने नाराका साथ पोखरा-२७ हेम्जामा मंगलबारदेखि आलु महोत्सव शुरु भएको छ ।
विष्णुपादुका क्लव हेमजाको आयोजनामा विष्णुपादुका खेल मैदान हेम्जामा मंगलबारदेखि शुरु भएको महोत्सवको पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशक बेनीबहादुर बस्तेतले उद्घाटन गरेका हुन् ।
३० गतेसम्म सञ्चालन हुने महोत्सवमा १२ वटा आलुका परिकारका स्टल, ५० वटा ब्यबसायीक स्टल, ३० वटा कृषि प्राविधिक प्रदर्शनी स्टल, एउटा प्राथमिक उपचार केन्द्र र एउटा सुचना केन्द्रसहित कुल ९४ वटा स्टल रहेका छन् ।
महोत्सवको आकर्षणको रुपमा आलु तथा ताजा तरकारीको बृहद प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्य प्रस्तुती, जापनीज सुन्तला प्रदर्शनीसहित सेती नदीमा र्याटिङ्ग, जिप ˆलायर र प्याराग्लाईडिङ्गका लागि टिकट पनि उपलब्ध गराइनेछ ।
महोत्सवमा २५ वटा आलुका परिकार चाख्न पाईने महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक परशुराम अधिकारीले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा आलु चिप्स, आलुदम, आलु चुकौनी, पोटेटो चिल्ली, जिरा आलु, आलु मःमः, आलु साँधेको, आलुको छोईला, आलु चप, पोटेटो स्टिक, आलु पकौडा, पाटेटो सिक्स्टी फाईभ, आलु ककटेल, आलु अचार, पिरो आलु, आलु समासा, पोटेटो रोल, ग्रेभी पोटेटो लगायतका परिकार बनाएर बेच्न राखिएका छन् ।
हेमजालाई ब्यबसायीक कृषि गाउँको रुपमा परिचित गराउँदै विविध कृषि उत्पादनको प्रबर्द्धन तथा कृषि पर्यटनको प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको अधिकारीले बताए ।
४५ टनको आलुको पहाड
महोत्सवमा यस वर्ष आलु ३२ रुपैयाँ केजीले विक्री गरिएको छ । यो मूल्य गत वर्षको भन्दा ४ रुपैयाँले बढी हो । गत वर्ष साधारण आलु २८ रुपैयाँ केजीले विक्री गरिएको थियो । आलु बेच्न ४५ टनको आलुको पहाड बनाईएको छ ।
यसैबीच, महोत्सवको पहिलो दिन दश हजार दर्शकले महोत्सवको अवलोकन गर्नुका साथै पाँच लाखको आलुको कारोबार भएको प्रचार प्रसार उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए ।
महोत्सवमा प्रवेशका लागि ५० रुपैयाँ टिकट राखिएको छ भने विद्यार्थीलाई २० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment