२३ चैत, रुकुम । रुकुमको मग्मा गाविस-९ ढारवाङका शसिराम खत्री ५८ वर्ष पुगे । कपाल फुलेर सेतै भएको छ । आँखामा पावरवाला चस्मा छ । तर, उनी नाति-नातिनी सरहका विद्यार्थीहरुसँगै एसएलसी परीक्षा दिइरहेका छन् ।
मग्माकै सिद्धार्थ जनता उच्च माविबाट एसएलसी परीक्षामा सहभागी छन् खत्री । उनले मर्यादित तरिकाले परीक्षा दिइरहेको केन्द्राध्यक्ष नदिराम केसीले बताए ।
‘सी प्लस’ ग्रेड ल्याउने लक्ष्य
मग्माकै राष्ट्रिय मावि ढारवाङमा कार्यालय सहयोगी पदमा कार्यरत उनले विहान र साँझ फुर्सदको समयमा ट्युसन तथा कोचिङ कक्षा लिने गरेका थिए । दैनिक ५ घन्टा घरमै स्वअध्ययन गरेको बताउने उनी ‘सी प्लस’ ग्रेड ल्याउने लक्ष्यसहित परीक्षामा सहभागी छन् ।
‘नियमित विद्यार्थीहरुसँगै ट्युसन पढेको हुँ,’ उनले भने, ‘नियमित विद्यार्थीजस्तै नतिजा ल्याउँछु भन्ने आशा छ । सी ग्रेड कसो नआउला ।’
पढाई लेखाई बिना कुनैपनि काम सफल रुपमा पूरा गर्न नसकिने चेतना अहिलेमात्र आएकाले बुढ्यौली उमेरमा एसएलसी परीक्षामा सहभागी भएको खत्रीले बताए । पहिले विभिन्न कारणले पढाई बिचमा छोड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै खत्रीले अहिले आएर शिक्षाको महत्व बुझेको जनाए ।
पढ्ने इच्छाशक्ति भए उमेरले छेक्दैन भनेर देखाउने र पढाईभन्दा अरु कुरामा ध्यान दिने पछिल्लो पुस्ताका लागि आफू उदाहरणीय पात्र बन्ने उनको विश्वास छ ।
जिल्लामा केहि बर्षयता पाका उमेरका व्यक्तिहरु एसएलसीमा सहभागी हुने क्रम बढीरहेको जिल्ला शिक्षा कार्यालय रुकुमका शाखा अधिकृत तिलक गौतमले जानकारी दिए । उनका अनुसार बर्षमा ५० जना बढी पाका उमेरका व्यक्तिहरु परीक्षामा सहभागी हुने गरेका छन् ।
-लोकेन्द्र खनालबाट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment