रामायणका महत्वपूर्ण पात्र रुद्रअवतार हनुमानलाई ‘चिरञ्जीवी’ वानर पनि भनिन्छ, यानिकी ‘अमर वानर’। जबसम्म धर्तीमा मनुष्यहरूले राम नाम जपिरहन्छन्, तब सम्म रामभक्तहरूको सेवा गर्ने अठोट लिएपछि राम र सीताले उनलाई ‘अमरत्व’को वरदान दिएको रामायणमा उल्लेख गरिएको छ।
यसैकारण नै द्वापरयुगमा घटेको महाभारत घटनामा पनि त्रेतायुगका हनुमानको महत्वपूर्ण भूमीका रहेको महाभारत ग्रन्थबाट थाहा पाउन सकिन्छ।
भीम र हनुमानको भेट
द्वापर युगमा हनुमानले महाबली कुन्तीपुत्र भीमको परीक्षा लिने निर्णय गरे।
महाभारतको ‘वनपर्व’को प्रसङ्गअनुसार, एकचोटि द्रौपदीले भीमलाई सुगन्धीत फूल ल्याउनको लागि आग्रह गरिन् र भीम पनि फूल खोज्न वनतर्फ लागे। जाँदै गर्दा भीमले एक वृद्ध वानरलाई बाटो नै छेक्ने गरी लम्पसार परेर सुतिरहेको अवस्थामा देखे। कुनै पनि प्राणीलाई नाघेर जानु उसको अपमान हुने भएकोले भीमले वानरलाई आफ्नो पुच्छर हटाउन आग्रह गरे।
त्यस वानरले भने- “हे वीर, म असाध्यै वृद्ध छु, आफूखुशी पुच्छर चलाउन पनि सक्दिनँ। तिमीलाई कता जानुपर्ने? अवेर भयो होला, मेरो पुच्छर तिमी आफै हटाऊ र जाऊ।”
त्यसपछि भीमले त्यस वानरको पुच्छर उठाउन आफ्नो १० वटा हात्तीको बल लगाउँदा पनि उठाउन सकेनन्, उठाउनको कुरा त परै जाओस्, हल्लाउन पनि सकेनन्। तब भीमलाई महशुस भयो कि त्यो कुनै साधारण वानर होइन, र उनले सोधे- “हे वानर! तिमी को हौ?” तब वानररूपी हनुमानले आफ्नो वास्तविक रूप धारण गरे र भीमलाई आफ्नो बलप्रति घमण्ड गर्नुहुँदैन भनी आशिर्वाद दिएर गए।
अर्जुनको रथ र ध्वजा
एक अन्य कथाका अनुसार, एकपटक धनुरधारी कुन्तीपुत्र अर्जुन रामेश्वर गएका थिए, जहाँ उनले श्रीरामले बनाएका पुल देखे। यो देखेर अर्जुनले भने कि- “श्रीरामलाई पुल बनाउनको लागि वानरहरूको के आवश्यकता थियो र? जबकी ऊ आफै एक सर्वश्रेष्ठ धनुरधारी थिए। यदि उनको ठाउँमा म भएको भए यो पुल त वाणलै नै बनाइदिन्थेँ।”
अर्जुनको यो कुरा त्यहिँ नजिक बसिरहेका एक वानरले सुनिरहेका थिए। वानरले अर्जुनलाई आफ्नो परिचय दिए र भने- “हे धनुरधारी अर्जुन! म यो पुल बनाउने वानरहरूमध्ये एक हनुमान हुँ। तिमीले भन्यौ कि वाणबाटै पुल बनाउँछु भनेर, तर वाणबाट बनाएको पुलले त एक व्यक्तिको पनि भार उठाउन सक्दैन”
तब अर्जुनले भने- “मेरो वाणलाई केहि पनि हुँदैन, यदि केहि भैहाल्यो भने म प्रतिज्ञा गर्छु कि म अग्नीकुण्डमा प्रवेश गरेर आफैलाई भष्म गराउँछु। मैले बनाएको वाणको पुलमा हजुरजस्तै कैयौँ वानरहरू उफ्रीउफ्री हिँड्न सक्नुहुन्छ।”
अर्जुनको यस्तो आत्मविश्वास देखेर हनुमानले पनि प्रतिज्ञा लिए कि, “यदि तिमीले बनाएको पुलले मेरो केवल एउटा औँलालाई धान्न सक्यो भने म तिम्रो रथको ध्वजामा बसेर युद्धमा तिम्रो सहायता गर्नेछु।”
अर्जुनले आफ्ना प्रचण्ड वाणहरूबाट तुरुन्तै पुल बनाइदिए। त्यसपछि वानररूपी हनुमानले पनि आफ्नो विराट रूप धारण गरी श्रीरामको नाम जपी अर्जुनले बनाएको पुलमा औँला राखे। तर उनले औँला राख्ने बित्तीकै पुल डगमगाउन थाल्यो र अर्जुनले हनुमानलाई दिएको प्रतिज्ञाको पालना गर्न भनेर आफ्नै वाणले अग्नीकुण्ड तयार पारे र त्यहाँ होम्मिन खोजे।
उनको यस्तो क्रियाकलाप देखेर श्रीकृष्ण आत्तिन थाले र तुरुन्तै एक ब्राह्मणको भेष धरी त्यहाँ प्रकट भए र भने- “हे महावीर, तिम्रो यस प्रतिज्ञाको कोहि पनि साक्षी छैन र बिनासाक्षीको प्रतिज्ञाको कुनै मोल हुँदैन। तिमी फेरी अर्को पुल बनाऊ।”
ब्राह्मणरूपी श्रीकृष्णको कुरा मानेर अर्जुनले फेरि आफ्नो वाणबाट अर्को पुल तयार पार्छन् र हनुमानले फेरि त्यस पुलमाथि आफ्नो औँलाले थिच्छन्। तर यसपटक भने पुल अडिग बसिरह्यो। यसबाट प्रसन्न भएर हनुमानले भने- “ब्राह्मणरूपमा स्वयं प्रभु प्रकट हुनुभएको छ। त्यसैले म मेरो प्रतिज्ञा पुरा गर्नेछु, तिम्रो रथको ध्वजामा सवार गरेर युद्धमा तिमीलाई सहायता गर्नेछु।” त्यसैले कुरुक्षेत्रको युद्धमा अर्जुनको रथको ध्वजामा हनुमान विराजमान भए र अन्त्यसम्म उनको रक्षा गरिरहे।
स्रोतः नेपाली हेडलाईन्स
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment