पुष्प दुलाल
२४ चैत, काठमाडौं । जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले चार वर्षअघि स्थापना भएको जलविद्युत लगानी तथा विकास कम्पनीले विभिन्न ११ जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँ लगानी गरेको छ ।
कम्पनीले ३ सय ८८ मेगावाट विद्युत उत्पादन क्षमता भएका आयोजनाहरुमा ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ लगानी गरेको प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले अनलाइनखबरलाई जानकारी दिए ।
कुल २ सय ९० मेगावाट विद्युत उत्पादन क्षमताका आधा दर्जन आयोजनाहरु ‘पाइपलाइन’मा रहेको रौनियारले बताए । पाइपलाइनमा रहेका आयोजनाहरुको ड्यू डेलिजेन्स अडिट (डीडीए) भइरहेको उनले बताए । ‘डीडीए रिपोर्ट हेरेपछि मात्रै ती आयोजनाहरुमा लगानी गर्ने कि नगर्नेभ नेर निर्णय गर्छौं’ रौनियारले भने ।
कम्पनीले कम्तिमा २० मेगावाटदेखि बढीमा ८२ मेगावाटको आयोजनामा लगानी गर्ने सम्झौता गरिसकेको छ । कम्पनीले लगानी गरेको सबैभन्दा सानो आयोजना भनेको मकवानपुरस्थित बाग्मती साना जलविद्युत आयोजना हो ।
त्यस्तै २० मेगावाटको सो आयोजनामा कम्पनीले २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले लगानी गरेकोमध्ये सबैभन्दा ठूलो आयोजना भनेको सोलुखुम्बुस्थित ८२ मेगावाटको तल्लो सोलू जलविद्युत आयोजना हो, जसमा कम्पनीले ६० करोड रुपैयाँ लगानी गरेको छ ।
कम्पनीले सबैभन्दा बढी लगानी गरेको आयोजना हो, ४२ मेगावाट विद्युत उत्पादन क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना । सो आयोजनामा कम्पनीले ९८ करोड ६१ लाख रुपैयाँ लागानी गरेको छ ।
सुरुका दुई वर्ष लगानी योग्य रकम बबैंकमा राखेर व्याज खाएको भन्ने आरोप लाग्दै आएको कम्पनीले पछिल्ला वर्षमा लगानी बढाउन सफल भएको हो ।
कम्पनीले लमजुङस्थित ४९ मेगावाटको सुपर दोर्दीमा ४० करोड, सोलुखुम्बूस्थित २३ .५ मेगावाटको सोलुखोला जलविद्युत आयोजनामा २० करोड, लमजुङस्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनामा कम्पनीले ५० करोड, ताप्लेजुङस्थित २५ मेगावाटको कावेली बी-१ जलविद्युत आयोजनामा कम्पनीले २० करोड रुपैयाँ लगानी गरेको छ ।
त्यसैगरी, दोलखाको ३० मेगावाटको खानीखोला जलविद्युत आयोजनामा कम्पनीले ४० करोड,पाँचथरस्थित २१.६ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनामा कम्पनीले १५ करोड, लमजुङस्थित ३० मेगावाटको ङ्यादी जलविद्युत आयोजनामा कम्पनीले ५० करोड, ताप्लेजुङपस्थित ४९.६ मेगावाटको सुपर दोर्दी आयोजनामा कम्पनीले ४० करोड, ताप्लेजुङकै ३७.६ मेगावाटको काबेली-ए आयोजनामा कम्पनीले ४ अर्ब २४ करोड लगानी गरेको छ । कावेलीमा भएको लगानी कम्पनीले विश्व बैंकबाट लिएको सफ्ट लोन हो ।
त्यसैगरी कम्पनीले आफ्नो ५१ प्रतिशत सेयर स्वामित्व भएको रेमिट हाइड्रो नामक सहायक कम्पनी स्थापना गरेको छ । रेमिट हाइड्रोले उत्पादन गर्ने १२५ मेगावाट क्षमताका दुई आयोजनामा १९ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ । तर, उर्जा मन्त्रालयमा पुगेको रेमिट हाइड्रोसम्बन्धी कम्पनीको प्रस्ताव मन्त्तालयमा वर्ष दिनदेखि थन्किएर बसेको छ ।
त्यस्तै, कम्पनीले ४०० केभीए क्षमताको अन्तरदेशीय प्रसारण लाइन मुजरफ्पुर-ढल्केबर बनाउने कम्पनी पावर ट्रान्समिसन कम्पनी नेपालमा १४ प्रतिशत सेयर पुँजी छ ।
कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ भए पनि कम्पनीले विभिन्न माध्यमबाट वित्तीय स्रोत जुटाएर परिचालन गर्ने सीइओ रौनियारले बताए । ‘बन्ड जारी गर्ने, संस्थागत ऋण लिने र अन्तराष्ट्रिय संस्थाहरुसँग सहुलियत दरमा ऋण लिएर वित्तीय स्रोत जुटाउँछौं,’ उनले भने- ‘यीमध्ये हाम्रो प्राथमिकता बन्ड जारी गर्ने मै हो ।’
कम्पनीले बहुराष्ट्रिय बैंकहरुसँग ऋण लिन सक्ने र विश्व बैंक,एसियाली विकास बैंक र अन्तराष्ट्रिय मुद्रा कोष लगाायतसँग सहुलियत दरमा ऋण लिएर आयोजनाहरुमा लगानी गर्ने उनले बताए । विश्व बैंकसँग ५ अर्ब रुपैयाँ लगानीका लागि सैद्दान्तिक सम्झौता भइसकेको र त्यसको कार्यान्वयन हुन बाँकी हरको उनले सुनाए ।
सरकारले उर्जा संकटकाल घोषणा गरिसकेको सन्दर्भमा त्यहाँ उल्लेख भएको कुरालाई कसरी कार्यान्वयन गर्ने भनेर आन्तरिक गृहकार्य भइरहेको उनले सुनाए । ‘कसरी वित्तीय स्रोत जुटाउने र नयाँ जलविद्युत आयोजनालाई अघि बढाउने भन्नेमा आन्तरिक गृहकार्य भइरहेको छ,’ रौनियारले भने ।
अहिलेको उर्जा क्षेत्रको समस्या उर्जा उत्पादनमात्रै नभएर प्रसारण पनि भएकाले त्यसतर्फ पनि कम्पनीले लगानी गर्ने सन्दर्भमा छलफल भइरहेको उनले जानकारी दिए ।
‘हामी निजी क्षेत्रका प्रवर्द्धहरुलाई आयोजना निर्माणमा ऋण दिनबाहेक सरकारले अघि बढाउन खोजेका आयोजनामा आंसिक लगानी गर्न, आफैंले नेतृत्व गरेर आयोजनाहरु बनाउन र रेमिट हाइड्रोजस्तै थप सहायक कम्पनीहरु स्थापना गरेर लगानी बढाउन चाहन्छौं,’ रौनियारले भने ।
ठूला आयोजनाहरु निर्माण सम्पन्न हुन ९/१० वर्ष लाग्ने भएकाले मझौला आयोजनाहरु निर्माणमा सबैले जोड दिनुपर्ने उनको धारणा छ । हरेक वर्ष राज्यले ५०/६० मेगावाटको हरेक वर्ष २ वटा आयोजना बनाउने हो भने जनताले अहिलेकोजस्तो लोडसेडिङको सास्ती भोग्न नपर्ने उनको भनाई थियो । ‘आगामी पाँच वर्षमा कम्पनीले जलविद्युत क्षेत्रमा ४० देखि ४५ अर्ब रुपैयाँसम्म लगानी गर्ने योजना छ,’ रौनियारले भने ।
कम्पनीले १५ देखि २५ मेगावाट विद्युत उत्पादन क्षमताका आयोजनाहरुलाई अधिकतम २० करोड रुपैयाँ र २५ मेगावाटभन्दा माथिका आयोजनाहरुलाई आवश्यकताअनुसार वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment